काठमाडौँ, अनेकन टुटफुट र विग्रहबाट अगाडि बढेको नेपालको कम्युनिस्ट आन्दोलन औपचारिकरुपमा आजदेखि ७१ वर्ष लागेको छ । कम्युनिस्ट पार्टी फुटन मात्र जान्छन्, जुट्न जान्दैनन् भन्ने विरासतलाई अन्त्य गर्दै गत जेठ ३ गते तत्कालीन नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकता गरे । एकीकृत पार्टीको नाम स्थापनाकालकै जस्तो लाग्ने गरी नेकपा राखियो ।
निरंकुश जहानियाँ राणा शासनका विरुद्धको प्रजातान्त्रिक जनआन्दोलनका क्रममा २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । सोही दिनको स्मरणमा आज नेकपाले विशेष कार्यक्रमको आयोजना ग¥यो । संस्थापकको योगदान र नेपालमा कम्युनिस्ट आन्दोलनले ल्याएको सकारात्मक प्रभावका बारेमा चर्चा मात्रै गरिएन, कार्यक्रममा सुन्दर भविष्यको फेहरिस्तसमेत प्रस्तुत गरियो ।
नेकपाका संस्थापक नेतामा पुष्पलाल श्रेष्ठ हुनुहुन्छ भने अन्य संस्थापकमा नारायणविलास जोशी, नीरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोती देवी श्रेष्ठ हुनुहुन्छ । ‘नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता, अतःक्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ’ भन्ने पर्चा नै नेकपा स्थापनाका सन्दर्भमा जारी गरिएको पहिलो पर्चा हो । यसै पर्चाका माध्यमबाट नै नेपालमा सङ्गठित कम्युनिस्ट आन्दोलनको विकास भएको मानिन्छ ।
यस्तै ‘पूर्ण नागरिक स्वतन्त्रताको लडाईं जिन्दावाद’ भन्ने उद्घोषका साथ नेकपाले जहानियाँ राणा शासनका विरुद्धमा सङ्घर्षको घोषणा गरेको थियो । नेकपाको स्थापनापश्चात् १५ सेप्टेम्बर १९४९ मा कम्युनिस्ट पार्टीको कार्यक्रमसम्बन्धी पहिलो घोषणापत्र जारी गरिएको थियो । ‘पहाड, पर्वत, खोलानाला जग्गा जमीन सबको, मालिक हामी दास बनौँ किन हिस्सा सबमा सबको’ भन्ने उद्घोषका साथ जारी गरिएको घोषणापत्रले लोक जनवादी नेपालको निर्माण गर्ने सामन्तवाद, साम्राज्यवाद विरोधी नेपाली क्रान्तिको दिशा अवलम्बन गर्ने नीति अख्तियारी गरेको थियो ।
फरकफरक राजनीतिक व्यवहार र चिन्तनबाट अगाडि बढेका दल २०७४ असोज १७ गते वाम गठबन्धन निर्माण गर्दै पार्टी एकता गर्ने तहमा पुगेका थिए । आज यहाँ आयोजित कार्यक्रममा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको हित र आर्थिक विकासको कार्यसूची नै पार्टीको प्रमुख लक्ष्य रहेको बताउनुभयो ।
नेपालका कम्युनिस्ट पार्टी स्थापना भएपछि जारी गरिएको पहिलो घोषणापत्रमा ‘श्रमजीवी जनताको विकासशील सङ्घर्षमा सहभागी बन्ने र त्यसलाई सङ्गठित पार्ने तथा नेतृत्व दिने र त्यसलाई विजयसम्म अघि बढाउने काममा आपूmलाई समर्पित गर्दछ’ भन्ने उल्लेख थियो ।
यस्तै यस बाटोबाट जस्तोसूकै आतङ्क र भूmठो प्रचारले पनि विचलित पार्न सक्ने छैन भन्ने पनि घोषणापत्रमा उल्लेख थियो । नेकपाद्वारा ऐतिहासिक घोषणापत्र जारी भएको एक वर्ष बित्दा नबित्दै नेपालमा राजनीतिक उथलपुथल देखाप¥यो र विसं २००७ फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्य भयो ।
इतिहासलाई स्मरण गर्दै नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भन्नुभयो, “विगतमा हामी स्वतन्त्रताको गीत गाउँथ्याँै, जनअधिकारको गीत गाउँथ्यौँ । हाम्रा अर्थात् नेपाली जनताका ठूला सपना थिए । लोकतन्त्र, नागरिक स्वतन्त्रता र परिवर्तन । आज हामी कार्यान्वयन गर्ने र पूरा गर्ने स्थानमा आइपुगेका छौँ ।”
‘हामी जित्ने छौँ एक दिन । जीत हाम्रो सपना थियो । त्यो आजै हो । विगतमा सपना ठानिएका जनताका अधिकार आज प्राप्त भएका छन्’ प्रधानमन्त्रीले एक अमेरिकी गायकको गीतसमेत उद्धृत गर्दै भन्नुभयो, “जनताले जित्छन् र परिवर्तनको चाहनाले जित्नेछ ।” विगतमा सपना ठानिएका र माग गरिएका जनअधिकार प्राप्त भएका छन् । प्रधानमन्त्रीले चर्को मूल्य चुकाएर प्राप्त भएको जनताको अधिकार र परिवर्तनलाई संस्थागत गर्दै समृद्धिको यात्रामा अगाडि बढ्नु नै आजको आवश्यकता भएको बताउनुभयो ।
मेलम्ची आउँछ, वृद्धभत्ता बढ्छ
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको काम छिट्टै सम्पन्न हुने प्रधानमन्त्रीको भनाइ छ । उहाँले भन्नुभयो, “ठेकेदारले धोका दियो । अब नयाँ प्रक्रियाबाट मेलम्ची खानेपानी आयोजनाको काम अगाडि बढ्छ ।” मेलम्ची आयोजनाले काठमाडौँ उपत्यकावासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने भएकाले पनि त्यसको ठूलो महत्व रहेको र सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
चालू आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षाभत्ता बढाउन नसकिएको भन्दै उहाँले भन्नुभयो, “मुलुकको अर्थतन्त्रलाई डामाडोल बनाएर छाडिएको थियो । हामीले अर्थतन्त्रलाई लिकमा ल्याएका छौँ । आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता अर्थात् वृद्धभत्तासमेत बढाउँछौँ ।” प्रधानमन्त्रीले वृद्धभत्ता नबढाइएको विषयलाई लिएर गलत प्रचार भएकामा गुनासो गर्नुभयो ।
नेकपाको सरकारको प्रमुख कर्तव्य जनतालाई न्याय, समानता, सुशासन दिनु रहेको भन्दै उहाँले देश हरेक दिन एक कदम अगाडि बढिरहेको बताउनुभयो । “भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ छिचोलिएको छ । लगानी सम्मेलन गरेर वैदेशिक लगानी भित्र्याउने वातावरण बनाइएको छ । देशभर ४०० वटा झोलुङ्गे पुल बनेका छन् । यसै वर्ष मात्रै ४० वटा तुइन विस्थापित भए । आठ सय किलोमिटर सडक कालोपत्र भएका छन्”, प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले समृद्धिको यात्रामा दिन दिनै भइरहेका प्रगतिका बारेमा पनि जानकारी दिनुभयो ।
यस्तै अर्का अध्यक्ष दाहालले पनि आर्थिक विकास र समृद्धिका लागि सरकारले आधार तयार पारेको बताउनुभयो । “एक वर्षको अवधि खासै ठूलो समय भने होइन, तर यसबीचमा सरकारले आशा लाग्दो शुरुआत गरेको छ । तर यत्तिकैमा अल्झेर बस्ने होइन, गति बढाउनु जरुरी छ ।” राजनीतिक उपलब्धिको रक्षाका लागिसमेत आर्थिक विकास र समृद्धि आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो ।
–रमेश लम्साल