काफ्ले बूढाको घर अगाडी घना बाँसघारी थियो। हो, त्यै बाँसघारीको सलक्क परेको हरियो बाँस भन्दा पनि पातली थिई ऊ । मेरो घर छेउमा टाटीले बारेको एउटा सानो हुटेल थियो, बुच्ची दिदीको । ऊ त्यहिँ काम गर्थी । म , हरि, माने र बिमले स्कूल सक्किना साथ भेज म:म खान त्यहाँ पुग्थ्यौं । १३-१४ को उमेर हुँदो हो हाम्रो, त्यो बेला । हुन पनि त्यहाँको म:मको स्वाद सानदार थियो । बजार तिरको मिक्सचर’ले पेलेको टमाटरको अचार उति मीठो हुन्थेन । त्यहाँ हातैले पिसेको टमाटरको भी.आई.पी अचार पाइन्थ्यो । थप्पी थपी ।
पातली । जिउ डाल पातलो भएकैले होला उसको बोलाउने नाम नै पातली थियो । उसको बास्तबिक ठेगानाको पत्तो हाम्लाई थिएन । रै पनि गाउँघरमा हल्ला खल्ला भै नै जान्छ । “ पातली पहाड’बाट एक्लै भागेकी रे ”, हाम्ले उसका बारे यहि सुनेकाथ्यौं । ऊ कता’बाट र किन आई भन्ने कुराको हाम्लाई चासो थिएन । ऊ आक्रामक सुन्दर थिई र हाम्रोलागि यहि काफी थियो । सारा गाउँलाई झैं हाम्लाई पनि उसको अदाको मतलब थियो । उमेर’लेचाहिँ ऊ हामी भन्दा कता हो कता ठुली थिई । २०-२२ की हुँदी हो ऊ, त्यो बेला । तर उसको उमेर ठुलो भएकोमा पनि हाम्लाई छु मतलब थिएन ।
+ + +
चारै जना हामी स्कुल सकिए लगत्तै बुच्ची दिदीकोमा म:म खान जान्थ्यौं र मौका मिल्ना साथ उसैलाई हेर्थ्यौं । ऊ टक्क आएर हाम्रो अगाडी म:मको प्लेट राखीदिन्थी । खासै बोल्थिन । र फनक्क फर्केर जान्थी । कुर्तामा ऊ हिरोइन भन्दा कम्ति राम्री देखिन्थिन ।
सारा गाउँ उसको रुपको दीवाना थियो । समस्त गाउँमै उसको सुन्दरताको बडो चर्चा थियो । हामी चारजना फुच्चेहरुको बीचमा त झनै । यहाँ सम्मकी हामी मध्ये कुनै एकले कतै राम्री केटी देखेको बयान गर्यो भने बाँकीले सोधी हाल्थ्यौं, “ राम्री ? पातली दिदी भन्दा पनि राम्री ? “ । मतलब, हाम्रा लागि पातली सुन्दरताको बेन्चमार्क नै थिई । कुनै केटीलाई राम्री’को ट्याग भिराउनु छ भने ऊ पातली भन्दा राम्री हुनै पर्थ्यो , हाम्रो यहि बुझाई थियो ।
+ + +
पातली धेर फुर फुर गर्ने खालकी थिईन । हुटेलमा आउने लाठेहरु पातलीलाई भगाई हालौंला झैं गरेर जिस्काउँथें । ऊ वास्तै नगरी नबोली हिंडीदिन्थी । ऊ जति जति तर्किन्थी , लाठेहरु उति उति भुतुक्क हुन्थे । उसको यै सालिन स्वभाव र सन्तुलित हाउभाउले उसलाई थप आकर्षक बनाउँदो हो । सायद त्यसैले होला, गाउँका सारा लाठेको रोजाईमा केवल एउटी केटी थिई – पातली ।
+ + +
स्कुल पछि एकदिन हामी फेरी म:म खान बुच्ची दिदीकोमा पुग्यौं । त्यो दिन बुच्ची दिदी आफैंले म:मको प्लेट बोकेर आइन् । हाम्लाई खल्लो लाग्यो । भित्रैबाट नमज्जा लाग्यो । पातली हुटेलमा थिईन । ऊ नभएपछि हुटेलपनि उति सारो प्याक थिएन । हामी ट्वाँ पर्दै एक अर्काको मुख हेर्दै इशारामै प्रश्न गर्दै थियौं , “ कहाँ गई त पातली ? “ ।
भोलिपल्ट उसै गरि गइयो , पातली थिईन । पर्सी पल्ट पनि अहँ । एक हप्ता लगातार जाँदा पनि पातली नभेटेपछि मनमा खिन्नता सँगसँगै डर अनि चासो उत्पन्न भयो । मैले एक हप्ता पछि म:म खाँदै गर्दा फ्याट्ट बुच्ची दिदीलाई नै सोधी दिएँ –
“ दिदी , पातली दिदी खै त ? हिजो आज देखिनुहुन्न त ! “
“ सन्चो छैन उसलाई , कोठामै होलि “ – बुच्ची दिदीले एकै सासमा भनिन् ।
“ के भयो र ? “ – चारै भाइको तर्फबाट मैले सोधें ।
“ खै म जान्दीन, ज्वरो आको होला , टि.बी लागेको छ रे “
त्यो उमेरमा टि.बी को बारे हाम्लाई त्यत्ती धेरै जानकारी थिएन । यत्ति थाहा थियो कि यो भयानक रोग हो, यसले गाउँ घरका थुप्रै मान्छे मरेका छन् । पातलीलाई टि.बी लाग्यो भन्ने कुराले हामीलाई स्तब्ध बनायो । अनुहारबाट हामी आफैं रोगी जस्तो देखिन लाग्यौं । हुन पनि पातलीको कोहि थिएन । केहि थिएन । हुटेलमा त्यत्रा बिधि मान्छेलाई खाना खुवाए पनि आखिर ऊ आफैंमा एक्ली थिई ।
+ + +
“ सहयोग हामीनै गरौँ यार अब “ , स्कुलमा टिफिन खाई रहँदा हरिले भन्यो ।
“ हामीसँग के नै छ र यार ! “ – माने’ले न्याउरो भएर भन्यो ।
एकछिन् पछि बिमले’ले बुद्धि लगाउँदै भन्यो –
“ हेर केटा हो , घर जाउँ , बा’को गोजी छामौं , जति हुन्छ झ्याप् “
“ कहाँ चोर्नु यार , घरमा थाहा पाए भने त दह्रो चुट्छन् बाउले “ – मैले भनें ।
“ अनि के छ त उपाय ? “ – बिमलेले भन्यो , “ कसैले थाहा पाउँदैन , उठे जति सप्पै दिउँला पातली दिदीलाई “
+ + +
हामीसँग उति धेरै अप्शन थिएन । धेरै अनकनाएपछि आखिरमा बिमलेकै कुरामा सहमति जुट्यो । स्कुल पछि घर गएर सबैले आ-आफ्नो बा’को पर्स र सर्ट खोतले । पैसो नभेटे आमाको ब्याग छँदै थियो । आल्नामा झुन्डिरहेको बा’को सर्टको गोजीमा २८०० थियो । मैले डर मान्दै ६०० रुपैयाँ झिकें । केटाहरुले पनि सक्दो लिएर आए । पैसा भेला पारेर हेर्दै २१०० भएछ । २१०० रुपैयाँ लिएर हामी पातलीको कोठा तिर लाग्यौं । पातली काफ्लेबूढाकै घरमा भाँडामा बस्छे भन्ने हाम्लाई थाहा थियो । झ्यालबाहिरैबाट एस्सो चिहाउँदा पातली खाटमै पल्टी रहेकी थिई । हामीहरु चारै जना लस्करै उभिएर उसको ढोका ढक्ढकाउन थाल्यौं । एकछिन्मा भित्रबाट पातलीको आवाज आयो – “ को हो ? “
“ दिदी , हामी ! “
त्यसपछि आएर पातलीले ढोका खोलि । हामीलाई देखेर ऊ अक्क न बक्क भई । एकछिन् पछि उसले हामीलाई भित्र आउन भनि । हामीले पालै पालो उसको हाल बुझ्यौं । सन्चो बिसन्चो सोध्यौं । उसले “ ठिकै छ भनेर “ छोटो जवाफ दिई । त्यसपछि बिमलेले खल्तीबाट निकालेर पातलीलाई २१०० रुपैयाँ दिँदै भन्यो –
“ सन्चो छैन जस्तो छ दिदी , उपचार गर्नु है “
पातली अवाक् भइ । हामी उमेरले ऊ भन्दा धेरै साना थियौं । उसको अनुहारमा लाजको भाव प्रस्ट झल्कियो । आफू एक्लो हुनुको पिडा उसको आँखाको आँशु सँगै छचल्कियो । उसले मानिन पैसा लिन । हामीले जिद्दी गर्यों । अटेर गर्यों । उसलाई पैसा चाहिएको छ भन्ने कुरा हामीलाई प्रस्ट थियो । सायद उसको अनुहारमा झल्किएको लाजभन्दा त्यो दिन उसको आवस्यकतानै बढी थियो होला , एक हातले आँशु पुस्दै उसले पैसा लिई र चारै जनालाई घर्लप्प एकैपल्ट अँगालोमा हाली । साँझ भैसकेको हुनाले हामी एकैछिन्मा हिड्यौं । बाटोभरि हामीलाई अपार आनन्द आईरह्यो । पातलीसँग बोलेकोमा, पातलीलाई सघाएकोमा, पातलीले अँगालो हालेकोमा ।
+ + +
घर पुग्दा जात्रा सुरु भयो । बा’ले चाल पाएछन् । कुचोले चाकमा रन्किने गरि हिर्काए । के गरिस् र कता लगिस् भन्दै झापर्नु सम्म झपारे । मैले मरी गए हो भनिनं । थाहा छैन भनिरहें । धेरै बेर् सम्म थाहा छैन भनेपछि आमाले मेरो पक्ष लिँदै भनिन् , “ कतै खसाल्नु भो होला पैसा । के को चोर्नु बिचराले ? “
त्यति सुनेपछि बा’को सुद्धि फर्कियो क्यार , उनले हिर्काउन बन्ध गरे । अरु केटाहरुको पनि घरमा दह्रो धुलाई भएछ, बिमले बाहेक । उसको घरमाचाहिँ बा’ले चाल पाएनन् रे ।
भोली पल्ट स्कुलपछि हामी फेरी पातलीकोमा गयौं । उसको ढोकामा ठुलो ताल्चा थियो । माथि बरेन्डामा बसिरहेका काफ्ले बालाई सोध्दा पत्तो लाग्यो । पातली गाउँ छोडेर गैछे । कता ? थाहा छैन ।
हामीहरु खक्र्याकखुक्रुक्क भयौं । पातली सदाँको निम्ति गइ भन्ने कुराले आँखा टिलपिल भए । कुन कुनामा पुगी होलि ऊ ? रोगले ग्रस्त छे । हाम्रो सानो दिमागमा ठुलै झट्का पर्यो ।
+ + +
चक्रपथबाट गाडी चढेर बालकुमारी आइरहेको थिएँ । सुकेधारामा गाडी बिसायो । झ्यालबाहिर हेर्ने बित्तिकै मैले चिनिगएं । पातली । तर स्तिथि बदलिएको थियो । म ऊ’बेला १३ वर्षको थिएँ । अहिले २४को भएको छु । ११ बर्ष पछि पातलीलाई देख्दा पनि ऊ उतिकै राम्री थिई । उमेरले ३० नै नाघेकी किन नहोस् ? ऊ बेला भेट्दा रोगले ग्रस्त पातलीको आज एउटा सुन्दर परिवार थियो । स्टार्ट हुन लागेको स्कुटीको अगाडी संभवत उसको श्रीमान् होला , बिचैमा घोर्ले छोरो थियो । अनि लास्ट’मा उही पहिले जस्तो कुर्ता लागएर टाउकोमा चश्मा भिरेकी पातली । उसको खुशी देख्दा जुन आनन्द आयो , त्यो निस्सार थियो । चोरी गर्यों हामीले । लाग्छ ठिकै गर्यों । त्यो २१०० रुपैयाँको सम्झना उसले जुनी जुनी भर गर्नेछे । आज बिमले अस्ट्रेलिया पुगेको छ, हरि कुवेतमा चाइनिज कुक बनेको छ, माने दुबईमा उम्दा सेल्स्म्यान् बनेको छ । र मचाहिँ डुकु भएरै रिंग रोड भर भौतारिंदै छु । तर जे होस्, आज बेलुका केटाहरुलाई ग्रुप च्याटमा बोलाएर सुनाउनु पर्ला, पातलीको किस्सा । सबैको मन अपार खुशीको साथ् साथै हलुका पनि हुने छ ।