सुर्खेत, । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मंगलबार भोली ‘बे्रक थु्र’ गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले बटन थिचेर टिबिएमलाई सुरुङबाहिर निकाल्नुहुनेछ । ‘बे्रक थु्र’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि उपस्थित हुने आयोजनाले जनाएको छ ।
सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत सुरुङ निर्माण गरेको हो ।
सम्झौतामा उल्लेखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो । आयोजनाका निर्देशक सञ्जीव बरालले आयोजनाको प्रवेशद्वार भेरीगंगा नगरपालिका–११ को चिप्लेमा मंगलबार बिहान ११ बजे आयोजना हुने ‘बे्रक थु्र’ कार्यक्रमको सबै तयारी पूरा भएको जानकारी दिनुभयो ।
बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा आइपुगेको हो । विसं २०७४ कात्तिक मसान्तदेखि टिबिएमको सहायताले सुरुङ खन्न थालिएको हो ।
सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो । पहिलो पटक नेपाल भित्रिएको टिबिएमको सफल परीक्षणका कारण सुरुङ निर्माणकार्य एकवर्ष अगावै सम्पन्न भएको हो । सुरुङ निर्माणमा चिनियाँका साथै नेपाली प्राविधिक तथा कामदार दुई सिफ्टमा गरी चौबिसै घण्टा खटिएका थिए ।
‘नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन जडान गरी निर्माण भइरहेको यो नमूना आयोजना हो’, उनले भने, ‘विभिन्न अवरोध, आशंकाकाबीच निर्धा्रित समयभन्दा ठीक एक वर्षअघि नै सुरुङ निर्माण गर्न सफल भयौंँ, यसले आयोजनालाई मात्र होइन सिङ्गो मुलुकलाई ठूलो हौसला मिलेको छ, त्यही सन्देश प्रवाह गर्न प्रधानमन्त्रीको उपस्थितिमा ‘बे्रक थु्र’ को तयारी गरेका हौँ ।’
सुरुङ खन्न अमेरिकी कम्पनी रोबिन्सले निर्माण गरेको चालकरहित टिबिएम मेसिन नेपालमै पहिलो पटक प्रयोगमा आएको हो । नेपालमा यस अघि ड्रिलिङ र ब्लाष्टिङबाट मात्रै सुरुङ खन्ने प्रचलन थियो ।
मुलुकमै पहिलोपटक बहुउद्देश्यीय, एउटा बेसिनबाट अर्को बेसिनमा स्थानान्तरण, मेसिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमूना आयोजना भन्ने गरिएको छ । सिँचाइ विभागका प्राविधिक भेरी–बबईको सफल परीक्षणका कारण अन्य स्थानमा पनि यस्ता आयोजना सञ्चालन गर्न सकिने बताउँछन् ।
प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङमार्फत बबई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने र ५ नं प्रदेशका बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आयोजना शुरु भएको हो ।
सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिए पनि आयोजनामा अन्य पूर्वाधारको काम भने बाँकी नै छन् । विद्युत् उत्पादनदेखि सिँचाइका लागि पानी खसाल्ने ब्यारेज निर्माणको काम बल्ल शुरु हुँदैछ । आयोजनाका निर्देशक बरालले पानी खसाल्न चिप्लेमा ६ गेजको ब्यारेज निर्माण गरिने बताए । उनका अनुसार ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ ।
त्यस्तै, ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । यसका लागि हात्तीखालमा विद्युत्गृह निर्माण कार्यको प्रक्रिया शुरु भइसकेको छ । सिँचाइ विभागले यहाँबाट उत्पादित विद्युत्को आम्दानी वार्षिक करिब रु चार अर्ब तीन करोड र बाह्रै महिना सिँचाइ उपलब्धता भई कृषि उत्पादन बढेर वार्षिक रु तीन अर्ब १० करोड अप्रत्यक्ष आम्दानी हुने दाबी गरेको छ ।