उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले समाजको अस्तित्वमा रहेका सबै विधाले राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्ने बताउनुभएको छ । आजबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर स्ुर्खेतमा नौ दिनसम्म सञ्चालन भएको ‘रारा राष्ट्रिय नाटक महोत्सव २०७५’ को उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले आफ्नो पहिचान र गौरव झल्कने मध्यको नाटक विधाले पनि मुलुक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
“नाटकले सामाजिक पक्षलाई जीवन्त ढङ्गले प्रस्तुत गर्दछ,” रक्षामन्त्री पोखरेलले भन्नुभयो, “अब रङ्गकर्मीहरुको कलाले सरकारको समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न सहयोग पुगोस् ।” सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा उत्पादनसँग जोडिन सकेमात्र आत्मनिर्भरताको विकास हुने उहाँको भनाइ थियो । रक्षामन्त्री पोखरेलले ४०० वर्ष लामो इतिहास बोकेको कर्णाली प्रदेशमा आयोजित रारा राष्ट्रिय नाटक महोत्सवले यहाँको विकास र समृद्धिमा विशेष महत्व राख्ने विचार व्यक्त गर्नुभयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्नका लागि नागरिकमा स्थायी खुशी र शान्ति आवश्यक रहेको तर्क गर्नुभयो । “ठूलो भूगोल तर सबै हिसाबले कमजोर कर्णाली प्रदेशको विकासमा सङ्घीय सरकारको अधिकतम सहानुभूति हुनुपर्छ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “विकासले मागेको बजेट व्यवस्थापनले समानुपातिक एवं सन्तुलित विकास हुने र त्यसले सरकारको नारामा सहयोग पुग्ने देखिन्छ ।”
प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले कर्णालीमा सञ्चालन भएको रारा राष्ट्रिय नाटक महोत्सवले समाज रुपान्तरणमा टेवा पुग्ने विश्वास गर्नुभयो । नाटकले सामाजिक यथार्थतालाई उजागर गर्ने भएकोले तिनको प्रवद्र्धनमा सरकार सकारात्मक रहेको उहाँको भनाइ थियो ।
महोत्सवमा मुसल पर्व, आरन, छाउ, म पहिलो सन्तान किसान जन्माउँछु, आमाको सपना, दहेज आ दारु, श्रीमान् बीरबहादुर, जिउँदो आकाश, फड्को, नौगेडी, हिटवा, घेरो र एक बोली एक दामलगायत १३ नाटक प्रदर्शन हुने मुख्य आयोजक संस्था सांस्कृतिक संस्थान काठमाडौँका महाप्रबन्धक राजेश थापाले जानकारी दिनुभयो ।
महाप्रबन्धक थापाका अनुसार नाटक महोत्सवमा सातै प्रदेशबाट १५० रङ्गकर्मी र एकजना विदेशीसहित देशभरिबाट १० जना नाट्य विज्ञहरु सहभागी रहनेछन् । कर्णाली प्रदेश सरकारको प्रमुख संरक्षकत्व, सांस्कृतिक संस्थान काठमाडौँ तथा आरंग नेपाल सुर्खेतको संयुक्त आयोजनामा आजबाट शुरु भएको राष्ट्रिय नाटक महोत्सव फागुन २९ गते सञ्चालन हुने जनाइएको छ ।