अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद अहिलेका लागि अन्त्य भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा हस्ताक्षर गर्नुभएको छ । जसका कारण यहाँको बजेटसम्बन्धी गतिरोध हालका निम्ति अन्त्य भएको हो ।
अमेरिकी इतिहासकै सबभन्दा लामो समयसम्म सरकारी खर्चका लागि समस्या उत्पन्न भएको थियो । त्यसको अन्त्य गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प सहमत भएपछि आगामी तीन हप्ताका लागि बाटो खुलेको समाचारमा जनाइएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा शुक्रबार अबेरतिर हस्ताक्षर गर्नुभएको हो । उहाँले सरकारी खर्चका लागि आगामी फेब्रुअरी १५ सम्म खर्च गर्न पाउनेगरी सो विधेयकमा हस्ताक्षर गर्नुभएको हो ।
मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने बजेटको व्यवस्था गर्नुपर्ने भन्दै उहाँले अमेरिकी सिनेटसँग आफ्नो माग राख्दै आउनुभएको छ । तर हिजो पारित गरिएको सो विधेयकमा पनि उहाँको सो मागका बारेमा भने केही उल्लेख छैन ।
साथै उता संसदले पनि यस विषयमा बजेट दिने बारेमा कुनै पनि सहमति गरेको छैन । तर पनि फेडरल सरकारलाई खर्चका लागि निकै समस्या उत्पन्न भएपछि उहाँले यो विधेयक जारी गर्नुभएको हो । (रासस÷सिन्ह्वा)