उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारका विरुद्धमा विपक्षीबाट तानाबाना बुन्ने काम भइरहेको आरोप लगाउनुभएको छ ।
रुकुमपूर्वको रुकुमकोटमा आज आयोजित प्रथम पर्यटन तथा साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै उहाँले सरकारलाई असफल बनाउन सरकार विरुद्ध विभिन्न तानाबाना बुन्न थालिएको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।
“वर्तमान सरकार जनताको मत र विश्वासमा बनेको हो”, उहाँले भन्नुभयो, “हामी समृद्धिको यात्रामा छौं, केही चिच्याउँदैमा, विरोध गर्दैमा केही फरक पर्दैन ।” दुई तिहाइको मतमा बनेको सरकार समृद्धिको यात्रामा अग्रसर रहेकाले पनि साना तिना जालझेलका पछाडि नलाग्ने उहाँले स्पस्ट पार्नुभयो ।
सरकार आफ्नो प्रतिबद्धताअनुसार अगाडि बढिरहेको बताउँदै उहाँले सरकार सामाजिक सुरक्षाका हिसाबले गम्भिर रहेको जानकारी गराउनुभयो । यसैबीच भौगोलिक विभाजनका क्रममा कान्छो जिल्ला बने पनि रुकुम पूर्व विकासमा अग्रसर जिल्ला बन्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।