आजको बैठकले प्रदेश कमिटि टुंग्याउने छ । सचिवालय सदस्य रामबहादुर थापा र महासचिव विष्णु पौडेल नेतृत्व कार्यदलले प्रदेश सदस्यहरूको जिम्मेवारी टुंगो लगाएको हो। सचिवालय बैठकमा सोही कार्यदलले तयार गरेको प्रस्तावमाथि छलफल हुनेछ।नेकपाले प्रदेश सदस्यको चयन गर्दा पुरानो कार्यदलले तयार पारेको प्रस्तावलाई आधार मानेको नेकपाले जनाएको छ। प्रदेश सदस्य चयन गर्दा पूर्व एमालेका तर्फबाट पूर्व प्रदेश सदस्य, अञ्चल र केन्द्रीय विभाग तथा केन्द्रीय निकायमा रहेका र वरिष्ठताका आधारमा प्रदेश सदस्य चयन गरिएको छ भने पूर्व माओवादी केन्द्रका तर्फबाट महाधिवेशन आयोजक कमिटी र वरिष्ठताका आधारमा सदस्य चयन गरिएको छ ।
नेकपाले प्रदेश १ बाट पूर्व एमालेका तर्फबाट १ सय २२ र माओवादी केन्द्रका तर्फबाट ८५ जना गरी गरी २ सय ७ जना प्रदेश सदस्यको नाम सिफारिस गरेको छ। त्यस्तै प्रदेश २ बाट पूर्व एमाले र माओवादी केन्द्रबाट क्रमस १र१ सय गरी २ सय प्रदेश सदस्यको नाम कार्यदललाई बुझाइएको छ। प्रदेश २ का लागि २ सय १५ जना सदस्यको मापदण्ड तोकिएकोमा १५ जना सदस्यको नाम अझै टुंगो लाग्न नसकेको कार्यदलका एक सदस्यले जानकारी दिए।
प्रदेश ३ मा पूर्व एमालेका तर्फबाट एक सय १६ र माओवादी केन्द्रका तर्फबाट एक सय एक प्रदेश सदस्य गरी कुल १ सय १७ प्रदेश सदस्यको नाम सिफारिस गरेर कार्यदललाई बुझाइएको छ। प्रदेश ३ मा अधिकांश पुरानै कार्यादलले चयन गरेका नाम पठाइएको जनाइएको छ।
प्रदेश ४ मा पूर्व एमाले र माओवादी केन्द्रका तर्फबाट गरी संयुक्तरूपमा १ सय ८७ जनाको नाम सिफारिस गरिएको छ। प्रदेश ५ मा कुल २ सय ३ सदस्य रिफारिस गरिएकोमा पूर्व एमालेको भागमा ५५ प्रतिशत र पूर्व माओवादी केन्द्रका भागमा ४५ प्रतिशत सदस्य रहेका छन्।
प्रदेश ६ मा पूर्व एमालेका तर्फबाट ८७ जना र पूर्व माओवादीका तर्फबाट ८८ गरी १ सय ७५ जनाको नाम सिफारिस गरिएको छ। प्रदेश ७ बाट १ सय ८३ प्रदेश सदस्यको सिफारिस गरिएकोमा पूर्व एमालेका तर्फबाट १ सय र पूर्व माओवादीका तर्फबाट ८३ जनाको नाम प्रदेश सदस्यमा रिफारिस गरिएको छ।