काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज बिहान बस्ने भएको छ ।
आइतबार अपराह्नका लागि तय भएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्य व्यस्तताका कारण स्थगित भएपछि आज बिहानका लागि तय भएको हो । अध्यक्ष तथा प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले अध्यक्षद्वयको कार्यव्यस्ताका कारण निर्धारित सचिवालयको बहुप्रतिक्षित बैठक आज बस्ने जानकारी दिए ।
पार्टीभित्रको विवादका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार आज विहान ८ बजेका लागी वोलाईएको छ । पार्टीका वरिष्ठ नेता माधव नेपालले चर्को असन्तुष्टि जनाएपछि मुख्यगरि त्यही विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक आज बोलाइएको हो।
बैठकमा पार्टीको प्रदेश, जिल्ला र स्थानीय तहको एकता, जनवर्गीय सङ्गठनको एकता, सरकार सञ्चालन लगायतका विषयमा छलफल हुने कार्यक्रम छ । बैठकले एकता प्रक्रियालाई थप सार्थक बनाई सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण निर्णय गर्ने विश्वास लिइएको छ । केही दिन पहिले बसेको सचिवालयको बैठकले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तय गरेको थियो ।
अध्यक्षद्वय ओली र दाहाल विदेशमा रहेका बेला वरिष्ठ नेता माधव नेपालले स्थायी समितिका सदस्यहरूको भेला गरेर प्रदेशका पदाधिकारी चयनको निर्णयप्रति लिखित रूपमै असहमति जनाएका थिए।
प्रदेश पदाधिकारी चयनको प्रक्रिया र मापदण्डप्रति नेपालले असन्तुष्टि जनाइरहेका छन् । संयुक्त राष्ट्रसंघको महासभाबाट फर्केकै भोलिपल्ट प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग शुक्रबार सल्लाह गरेर सचिवालय बैठकको मिति निर्धारण गरेका हुन्।
आज बस्ने बैठकमा प्रधानमन्त्रीको विदेश भ्रमणको जानकारी गराउनुका साथै पार्टी र सरकारको काम कारवाहीको समिक्षा समेत हुने बुझिएको छ ।