धनगढी, प्रदेश ७ को नाम सदुरपश्चिम हुने लगभग निश्चित भएको छ । यसको लागि प्रक्रिया सुरु गरिएको छ । प्रदेशको नाम र स्थायी राजधानी तोक्न प्रदेश सभाद्वारा गठित विशेष सुझाव समितिले नाम ‘सुदूरपश्चिम’ र राजधानी कैलालीको ‘गोदावरी’ लाई प्रस्ताव गरेको छ । समितिको प्रस्तावपछि भोलि बुधबारदेखि उक्त प्रतिवेदनमाथि प्रदेशसभामा छलफल सुरु हुने भएको छ ।
कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ हाल सेनाको तेघरी ब्यारेकभन्दा उत्तरपश्चिम, धनगढी–डडेल्धुरा सडकदेखि पश्चिममा रहेको सार्वजनिक जग्गामा राजधानी प्रस्ताव गरिएको छ ।
सुझाव संकलनका क्रममा नामांकनका सम्बन्धमा थुप्रै रायहरु आएका भएपनि अधिकांशले ‘सुदूरपश्चिम’ नै उपयूक्त हुने सुझाव दिएका आधारमा उक्त नाम प्रस्ताव गरिएको समितिका संयोजक तारा लामा तामाङले बताए । समितिसमक्ष खप्तड, कञ्चन, अपी, महाकाली, अपिसैपाललगायतका नामहरु सुझाव संकलनका क्रममा आएपनि सुदुरपश्चिममा सहमति भएको हो ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने राजधानीका सम्बन्धमा गरिएको सिफारिस उपयूक्त नभएको बताएको छ । संसदीय दलका नेता रणबहादुर रावलले भने, ‘हाम्रो मान्यता सकभर धनगढी उपयूक्त हुने र सार्नैपर्ने भए दिपायल नै हुनुपर्ने हो ।’
बुधबारदेखि प्रतिवेदनमाथि छलफल सुरु हुने प्रदेशसभाको कार्यसूची छ । तीन–चारदिनभित्र टुंगो लगाउने योजना रहेको बताइएको छ । संविधानको धारा २८८ को उपधारा २ अनुसार दुई तिहाई बहुमतले नामांकन र राजधानीको निर्णय गर्ने ब्यवस्था छ । हाल प्रदेश ७ को सभामा नेकपाको दुई तिहाई बहुमत रहेको छ ।