पोखरा नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले ऐतिहासिक कालखण्डमा बिपी कोइरालाले लेख्नु भएका पार्टीको विधानलाई गम्भीर भएर परिमार्जन गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली काङ्ग्रेस कास्कीद्वारा पोखरामा विधान संशोधन एवं सुझाव सङ्कलन विषयमा आयोजित दुई दिने प्रदेशस्तरीय भेलामा उहाँले नेपाली काङ्ग्रेसलाई झन सङ्गठित र सर्वश्रेष्ठ पार्टी बनाउने खालका सुझाव दिन सबैमा आग्रह गर्नुभयो ।
नेपाली काङ्ग्रेसका विधानको सम्बन्धमा सुझाव दिने विषय संविधानको विपरीत नहुनेतर्फ कार्यकर्तालाई सचेत गराउँदै उहाँले पार्टीको विधानमा आवश्यकता अनुरुप सुझाव दिनुपर्नेमा जोड दिनुभयो ।
पार्टी विधान संशोधन तथा सुझाव सङ्कलन टोली गण्डकी प्रदेशका संयोजक फरमुल्ला मन्सुरले गतिशील र सङ्गठित काङ्ग्रेस बनाउनका लागि पार्टीको विधानमा परिमार्जन गरेर एक तिहाइ पद आरक्षित गर्न लागिएको जानकारी दिनुभयो ।
संविधानअनुरुप, समावेशी, समानुपातिकको आधारमा महिला, दलित, आदिवासी जनजाति, थारु, मधेशी, मुश्लिमलगायतका वर्गलाई समेटेर विधान बनाउन लागिएको उहाँले स्पष्ट पार्नुभयो ।
विधान संशोधन तथा सुझाव सङ्कलन टोलीका सदस्य अमरसिंह पुनले काङ्ग्रेसलाई मजबुत बनाउने खालका सुझाव दिन आग्रह गर्दै पार्टीको विधानमा सम्मानित सदस्य, विशेष सदस्य, क्रियाशील सदस्य र गाउँ–टोली समितिको रुपमा वर्गीकरण गर्ने सोचाइ रहेको उल्लेख गर्नुभयो ।
नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले पार्टीको आन्तरिक शक्तिलाई बलियो बनाउनुपर्ने विषयमा जोड दिँदै युवा पुस्तालाई पार्टीको मूलधारमा ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो । रासस