पश्चिम नवलपरासीको सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगर बन्न सफल भएको छ । भूमहीमा आज आयोजित कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सुनवललाई नेपालको पहिलो बालमैत्री नगर घोषणा गर्नुभयो ।
सङ्घीय संरचना अनुसार नेपालका ७५३ स्थानीय तहमध्ये सुनवल देशकै पहिलो बालमैत्री नगर ( स्थानीय तह ) बन्न सफल भएको हो ।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले देशका अन्य प्रदेश भन्दा ५ नं प्रदेश समृद्धि र विकासका क्षेत्रमा बलियो प्रदेश बन्ने बताउनुभयो । यस प्रदेशको चौतर्फी विकासमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने धारणा व्यक्त गर्दै उहाँले भौतिक पूर्वाधार, पर्यटन, आर्थिकलगायत सबै क्षेत्रका विकासका कामलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ भन्नुभयो ।
प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले प्रदेशलाई समृद्धि र विकास तर्फ उन्मुख बनाउने कार्यमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
बालमैत्री स्थानीय शासनको अवधारणा अन्तर्गत बालबालिका क्षेत्रका विविध काम गरी देशमै पहिलो बालमैत्री नगर बन्न सफल भएको सो नगरपालिकाका प्रमुख भीमबहादुर थापा(भरत)ले जानकारी दिनुभयो । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिले तय गरेका ४२ विविध सूचककोमा सुनवल नगरपालिकाले लक्ष्यअनुसार सफलता हासिल गरेको छ ।
साविक सुनवल नगरपालिका यसअघि नै ०७२ जेष्ठ ३२ गते देशको पहिलो बालमैत्री स्थानीय शासन नगरपालिका घोषणा भएको थियो । सङ्घीय संरचनाअनुसार थप तीन वडाले आवश्यक सबै सूचक र लक्ष्य पूरा गरिसकेको छ ।
सेवा प्रवाह सम्बन्धी २७ र संस्थागत तर्फ १२ र अन्य तीन गरी कूल ४२ सूचकमा सुनवल नगरपालिकाले लक्ष्यअनुसार उपलब्धि हासिल गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लो पटक बालमैत्रीको क्षेत्रमा नेपालमा प्रभावकारी नीति तथा कार्यक्रम कार्यान्वयन हुँदै गएको बालमैत्री स्थानीय शासनका राष्ट्रिय सहजकर्ता शर्मिला पौडेलले जानकारी दिनुभयो ।
नगरपालिकामा कूल ६८ हजार ८२ जनसङ्ख्यामध्ये २८ हजार २६० बालबालिका छन् । नगरपालिकामा १६० बाल क्लब छन् । त्यस्तै १३ वडास्तरीय बाल क्लब र एक नगरस्तरीय बाल क्लब सञ्जाल छन् ।
पश्चिम नवलपरासी जिल्लामा सात स्थानीय तह छन् । अब नगरलाई महिला र वातावरण मैत्री बनाउने लक्ष्य लिइएको नगरपालिकाको दाबी छ ।रासस