काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानअधिकारप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्यसमितिलाई आज प्रधानमनत्री निवास बालुवाटारमा बधाइ दिँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ वर्ष जेल बसेको, पार्टीको कयौं नेता, कार्यकर्ता सहिद भएकोले वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने बताउनुभएको छ ।
माइतीघर मण्डलाको बिषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘माइतीघर मण्डला के आमसभा, जुलुस गर्न उपयुक्त ठाउँ हो त ?’ प्रधानमन्त्री ओलीको प्रश्न छ ‘अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने ?’
‘नेकपा लोकतन्त्रको जन्मदाता हो । यही पार्टीको सरकार भएका बेला लोकतन्त्र,प्रेस स्वतन्त्रता,मानवअधिकार हनन् हुने कुरा कल्पनासम्म हुँदैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘यो कुरा मिडियाले पनि बुझन् पर्दछ ।’
प्रधानमन्त्री ओलीले सरकारलाई सजग गराउन र जनतालाई सचेत गराउन मिडियाको ठूलो भूमिका हुने बताउनुभएको छ । केही सञ्चार माध्यमले आफ्नो दायित्व भुलेर जथाभावी गरिरहेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अहिले लेखिएका कुरा २० बर्षपछि हेर्दा पनि सत्य र सान्दर्भिक हुनुपर्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले १० बर्षमा नेपालको कायाकल्प गर्न सकिने बताउनुभएको छ । कृषिमा आश्रित जनसंख्यालाई दुईबर्षमा २० प्रतिशतमा झार्ने तर यसको उत्पादकत्व हालको भन्दा कयौं गुणा बढाउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले सोसाइटीका अध्यक्ष शुभशंकर कडेललगायत कार्यसमितीलाई सफल कार्यकालको शुभकामना दिनुभएको छ ।