फलेवास, पर्वत, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भ्रष्टाचार र अनियमिततालाई शून्यमा झार्न जनप्रतिनिधिसँग आग्रह गर्नुभएको छ ।
जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभालाई बिहीबार साँझ सम्बोधन गर्दै तिमिल्सिनाले स्थानीय तहमा केही लोभी पापी मन सक्रिय बन्दै गएको र भ्रष्टाचार, ढिलासुस्ती र काममा लापर्वाही भइरहेको गुनासो आएको बताउँदै नागरिकलाई विनाझण्झट सेवा प्रवाह गर्न, बिचौलियाको अन्त्य गर्न तथा कमिसन त्याग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदम गिरीले पाँच वर्षभित्र निर्वाचनअघि गरेका सबै वाचा पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विकास निर्माणमा सबै पक्ष समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो । रासस