मुस्ताङ, मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिकाको स्याङ्बोचेमा टिपर दुर्घटना हुँदा १५ मजदूरको मृत्यु भएको छ ।
बेनी–कोरला सडकखण्डमा काम गर्ने मजदूर चढेको टिपर स्याङ्बोचेमा दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिनुभयो ।
“दुर्घटनामा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ, सबै विवरण आउन बाँकी छ”, उहाँले भन्नुभयो । दुर्घटनामा परी १७ मजदूर घाइते भएका छन् ।
घटनास्थल सदरमुकाम जोमसोमदेखि ५० किलोमिटरको दूरीमा रहेको छ । प्रजिअ पौडेलका अनुसार उद्धारमा घनीबाट गएको प्रहरी टोली र स्थानीयवासी खटिएका छन् ।
जोमसोमबाट थप प्रहरी घटनास्थलतर्फ गएको मुस्ताङका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । दुर्घटनास्थलमा उद्धार कार्य चलिरहेको छ । “उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर पनि आउँदैछ,” खड्काले भन्नुभयो ।
दुर्घटना भएको क्षेत्रमा सडक निर्माणको जिम्मा बिरुवा कन्स्ट्रक्सनले लिएको बेनी–कोरला सडकखण्डका इन्जिनियर जगत प्रजापतिले बताउनुभयो । सोही निर्माण कम्पनीको टिपर दुर्घटनामा परेको हुनसक्ने बताइएको छ । रासस