प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धिसहित समाजवादको आधार तयार पार्ने आफूहरुको पूर्वप्रतिबद्धतालाई व्यावहारिक रुपमा कार्यान्वयन गरेरै छाडिने दृढता व्यक्त गरेका छन् ।
जननेता मदन भण्डारीको ६७औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘नेपालमा समाजवादका आधार’ विषयको विचारगोष्ठी एवं मदन भण्डारी राष्ट्रिय पुरस्कार अर्पण समारोह’लाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली जनताले कम्युनिष्ट आन्दोलनले मात्रै आर्थिक समृद्धि दिन सक्छ, समाजवादको आधार तयार पार्न सक्छ भनेर जिम्मा दिएका छन् । त्यो कार्यभार हामी पूरा गर्छौं ।’
वर्तमानको आवश्यकता नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको विकास, राष्ट्रिय एकता, सामाजिक न्याय, सुशासन र समृद्धिको भएकाले त्यसलाई कार्यान्वयन गरिने प्रधानमन्त्रीको भनाइ थियो । समाजवादलाई कोही कसैले रोक्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘समाजवाद आउँछ, आउँछ, अब कोही कसैले रोक्न सक्दैन । जनताका सामु गरेका प्रतिबद्धता र जिम्मेवारी शालीनतापूर्वक हामी पूरा गर्छौं ।’
नेकपाको सरकारलाई केही राजनीतिक शक्तिले गलत व्याख्या गरेको र अधिनायकवादको हल्ला गरेकामा आपत्ति प्रकट गर्दै उनले कसैले ल्याइदिएको लोकतन्त्रको उपयोग गरिरहेका नभएर आधा शताब्दीसम्म आफैँले लडेर, दुःख कष्ट सहेर, निर्वासन र भूमिगत बसेर ल्याएको राजनीतिक व्यवस्था र प्रणालीको उपयोग गरिरहेका बताउँदै भने, ‘यसमा कोही कसैले चित्त नदुखाए हुन्छ ।’
प्रधानमन्त्री ओलीले पछिल्लो समयमा छिमेकी देशसँग समानताका आधारमा सम्बन्ध विकास गरिएको, पारस्परिक लाभलाई हेरेर व्यवहार गरिएको र नेपालको आफ्नो स्वतन्त्र पहिचान स्थापित भएको स्पष्ट पार्नुभयो । बाह्य हस्तक्षेप र प्रभावको अन्त्य भएको तथा छिमेकीका चासो र चिन्तालाई सम्बोधन गरिएको उल्लेख गर्दै उनले नेपालको विकास र समृद्धिमा छिमेकीलाई पनि साथमा लिएर जाने वातावरण बनेको बताए ।
नेपाललाई एकाध वर्षमा विकासको मार्गमा अगाडि बढाउन सकिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘दूरदर्शी नेतृत्व क्रियाशील छ । नेकपाले दृष्टिकोणसहित नेतृत्व गरेको छ । केन्द्र, संघ र स्थानीय तहमा दुई तिहाइभन्दा बढीको जनमत छ । सही बाटो पहिल्याएर अगाडि बढेका छौँ । त्यस कारण हामी सफल हुन्छौँ ।’