नेपाल र चीनबीच ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र स्टेट ग्रीड कर्पोरेशन अफ चाइनाबीच सो प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
हस्ताक्षर समारोहमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको उपस्थिति थियो । यस्तै, नेपालको ऊर्जा मन्त्रालय र चीनको ऊर्जा तथा प्रसारण लाइन हेर्ने अधिकारीहरुको पनि उपस्थिति थियो ।
नेपाल र चीनबीच सीमापार विद्युत् आदानप्रदानका लागि सो प्रसारण लाइन निर्माण गर्न लागिएको हो । रसुवागढी–केरुङ नाकामा दुवैतर्फ यसअघि नै प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको छ ।
धादिङको गल्छीदेखि केरुङसम्म प्रसारण लाइन स्थापनामा पूर्वअध्ययन गरिसकिएको र हाल अन्तिम सर्वेक्षणको काम भइरहेको नेपाल विद्युत् प्राधिकरणका रातमाटे–गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन प्रमुख कोमलनाथ आत्रेयले जानकारी दिएका छन् ।
भारततर्फ ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । यस्तै नया“ बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण प्रक्रिया सुरु हुने चरणमा रहेको छ ।
रक्सोल–परवानीपुर र कुशाहा–कटैया अन्तरदेशीय प्रसारण लाइनसमेत निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको सन्दर्भमा चीनतर्फ पनि अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सम्झौता भएको हो ।
चिनिया“ लगानीकर्ताले एकपछि अर्को गर्दै नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा लगानी बढाइरहेको बेला सीमापार अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न लागिएको हो ।
रसुवागढी, केरुङ, गल्छी, रसुवागढी ४०० केभी प्रसारण लाइन बनाउन चिनिया“पक्ष र प्राधिकरणबीच विगतदेखि नै संयुक्त रुपमा काम भइरहेको छ ।
रसुवागढीदेखि गल्छीसम्मको दूरी ८० किलोमिटर रहेको छ । यस्तै, चीनतर्फ पनि गेरुङ काउन्टीमा निर्माण हुने सवस्टेशनको दूरी नेपाल–चीन सीमादेखि करिब ८० किलोमिटर रहेको छ ।
गल्छीदेखि केरुङ रसुवागढीसम्म तीन वटा रुट बनाएर पूर्वअध्ययन भएपनि रसुवामा लाङटाङ राष्ट्रिय निकुञ्जलाई छलाएर आयोजना अगाडि बढाइने भएको छ । केरुङतर्फ चिनिया“ प्राविधिक टोलीले अध्ययन सम्पन्न गरेको छ । यस्तै नेपालतर्फ धादिङ गल्छीभन्दा माथि रातमाटेमा सवस्टेशन निर्माण गरिनेछ ।
ल्हासाबाट सिगात्से ह“ुदै केरुङ आउने विद्युत् केरुङभन्दा माथि गेरुङ काउन्टीमा विद्युत् सवस्टेशनमा जोडिने भएको छ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले रातमाटेमा सवस्टेशन निर्माण गर्ने जनाएको छ । सो परियोजनामा ५० अर्ब लगानी हुनेछ । सवस्टेशन निर्माणका लागि जग्गा छनोटको कामसमेत सम्पन्न भइसकेको छ ।
सम्झौताअनुसार जग्गा प्राप्ति, वन तथा वातावरणको समस्या समाधानका लागि दुवै मुलुकले आ–आफ्ना देशमा आवश्यक समन्वय गर्नुपर्नेछ । नेपालले प्रसारण लाइनमा सहयोग उपलब्ध गराइदिन चीन सरकारसँग आग्रह गरेको छ ।
आयोजनाले सो प्रसारण लाइनलाई रसुवागढी केरुङ रेलमार्गको समानान्तर रुपमा निर्माण गर्नुपर्ने बताएको छ । प्रमुख आत्रेय रेलका लागि विद्युत् आवश्यक पर्ने भएकाले रेलमार्गभन्दा पहिले प्रसारण लाइन निर्माण गर्ने गरी छलफल भइरहेको बताए ।
ल्हासादेखि सिगात्सेसम्म रेलको लिक बनिसकेको हु“दा रेलको लिक नजिकैबाट प्रसारण लाइन निर्माण गरिने भएको छ । चीनस“ग विद्युत् आदानप्रदानका लागि रसुवागढी–केरुङ प्रसारण लाइन निर्माणका लागि सम्झौता भएस“गै तातोपानी, कोरला, किमाथांकालगायत स्थानबाट पनि प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त हुनेछ ।
प्रधानमन्त्री ओलीको सन् २०१६ को चीन भ्रमणमा समेत प्रसारण लाइन निर्माणको विषयले प्राथमिकता पाएको थियो । दुई वर्षपछि सम्झौता हुने चरणमा पुगेको हो ।