उद्घाटन खेलमा साउदी अरेबियालाई ५-0 को फराकिलो अन्तरले हराउँदै आयोजक रसियाले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको छ ।
विश्वकपको पहिलो खेलको १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध रसियाले पहिलो गोल गर्दै खाता खोलेको थियो । रसियाका लागि युरी ग्याजिन्सकीले पहिलो गोल गरे ।
उनले एलेक्जेडरको पास मार्फत हेडिङ् गर्दै बललाई जाली चुमाएका थिए ।
यस्तै खेलको ४३औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे। पहिलो हाफमा २ गोलको अग्रता लिएर दोस्रो हाफमा मैदान उत्रेको रसियाले ७१ औं मिनेटमा तेस्रो गोल गर्यो ।
रसियाका लागि तेस्रो गोल सब्सिटियूटमा मैदान उत्रेका आर्तेम दर्बुजाले हेड मार्फत गरे । उनले एलेकसानद्रको पासलाई क्रसबाट गोलमा परिणत गरेका थिए ।
उनी ७० औं मिनेटमा फेदोर सेमोलोभको सट्टामा मैदान छिरेका थिए।
यस्तै ९० मिनेटपछि थपिएको ३ मिनेटको अतिरिक्त समयको पहिलो मिनेटमा साउदीका फहाद अल मुलादले फल गरेपछि रसियाका देनिश चेरोसेभले डिबक्सको दाँयाबाट ‘लेफ्ट फुट सट’ हान्दै चौथो गोल गरे । उनलाई ७१ औं मिनेटमा गोल गरेका आर्तेमले हेडमार्फत पास दिएका थिए ।
त्यसैगरी, खेलको अन्तिम समयमा अलेक्जेन्डर गोलोभिनले फ्रि किकमार्फत गोल गर्दै गोलअन्तर ५–० पुर्याए । पहिलाे जितपछि रसियाले समूह ए काे अंक तालिकामा ३ अंक जाेडेकाे छ ।साउदी अरेबियाले गोलका गतिला अवसरसमेत सिर्जना गर्न सकेन ।