नेपाली काँग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले देश विकासका लागि सत्तारुढ दलले पारदर्शी र सुशासनका साथ काम गर्नुपर्ने बताउनुभएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्नहुँदै नेता गच्छदारले विकासका लागि सुशासन र पारदर्शिता आवश्यक पर्दछ भन्नुभयो ।
नेता गच्छदारले काँग्रेसको नेतृत्वको सरकारले गरेको निर्णय र कार्यको वर्तमान सरकार विरोध गर्नुले सुशासन र पारदर्शिताको अभाव प्रदर्शन भएको बताउनुभयो ।
सिर्जनशील युवा समूहले आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उहाँले विभिन्न ज्येष्ठ नागरिकलाई सम्मानसमेत गार्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस प्रदेश नम्बर १ का संसदीय दलका नेता राजीव कोइराला, प्रतिनिधिसभाका सांसद सीताराम मेहता, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहता, नेपाली काँग्रेसका जिल्ला सचिव केदार भण्डारीलगायतको सहभागिता रहेको थियो । (रासस)