विराटनगर, लामो समयदेखि कर नतिरेका र करको दायरामा नआएका व्यवसायीले कर तिरेमा कर शुल्क तथा ब्याज मिनाहा हुने भएको छ ।
आर्थिक वर्ष २०७५÷७६ को बजेट वक्तव्यमार्फत सरकारले २०७१ साल देखि २०७५ पुस मसान्तसम्मको कूल आय तथा त्यसमा लाग्ने कर व्यवसायीले बुझाएमा सोबापत लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने बताइएको छ ।
यसरी तोकिएको समयभित्र शुल्क तथा ब्याज नबुझाएमा पुरानो सबै हिसाब असुलउपर गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।
आव २०७१÷७२ तथा २०७२÷७३ को आय विवरण र सोमा लाग्ने आयकर २०७५ पुस मसान्तसम्म बुझाएमा सोभन्दा अगाडिको विवरण पेश गर्नुपर्ने छैन भने सोमा लाग्ने कर शुल्क तथा ब्याजसमेत मिनाहा हुने सरकारले निर्णय गरेको आन्तरिक राजश्व कार्यालय विराटनगरले जनाएको छ ।
सरकारको यो निर्णयको स्वागत गर्दै खुद्रा व्यापार संघ मोरङका अध्यक्ष संजयकुमारसिंह मण्डलले बाँकी कर तिर्न व्यवसायीलाई आह्वान गर्नुभयो ।
घाटामा गइरहेको व्यवसायीलाई यस निर्णयबाट सहयोग पुग्ने विश्वास उहाँको छ ।