नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले विगतमा काँग्रेसले लिएको आर्थिक नीतिले देशको आर्थिक आधार तयार गरेको दाबी गर्दै सदनमा प्रस्तुत बजेटमा नयाँ विषय नभएको बताउनुभयो ।
परिवर्तित सन्दर्भमा सरकारले प्रस्तुत गरेको बजेटले ठूलो सम्भावना किटान गर्न सक्ने भए पनि त्यस्तो नभएको भन्दै उहाँले बजेटले लिएको आर्थिक वृद्धिदर, विकास, रोजगारी सिर्जना गर्नेजस्ता विषय राम्रा विषय ल्याएको भए पनि कार्यान्वयन गर्न सक्छ कि सक्दैन भन्ने गम्भीर प्रश्न उठेको बताउनुभयो ।
बिपी कोइरालाले २०१५ सालमा गरीब जनतामा आधारित भएर दूरदृष्टिका आधारमा बजेट बनाउने गरिएको भन्दै उहाँले काँग्रेसको नेतृत्वको सरकारले ल्याएको बजेटले उदारीकरण र निजीकरणको मान्यताबाटै आर्थिक आधार बनेको बताउनुभयो ।
काँग्रेसका सफल अर्थमन्त्रीले ल्याएको बजेटले देशको बजेटको आधार वृद्धि भएको भन्दै गच्छदारले वायु सेवा, सञ्चार क्षेत्रलगायतका क्षेत्रमा काँग्रेसले लिएको तत्कालीन नीतिले नै ठूलो परिवर्तन भएको बताउनुभयो ।
























