गृहमन्त्री रामबहादुर थापाले मुलुक समृद्धिको आधार नै भौतिक पूर्वाधारको विकास भएकाले यसमा हेलचक्र्याई गर्न नहुने बताएका छन् ।
अहिलेको सरकारको प्राथमिकता नै आर्थिक विकास र समृद्धि भएकाले यसमा सबै पक्षले ध्यान दिन जरुरी रहेको बताए । शनिबार ताप्लेजुङमा मन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कडाइका साथ कारबाही गर्ने तर्फसमेत सरकार केन्द्रित भएको उल्लेख गरे ।
उनले मुलुकका कुनै पनि भौतिक संरचनाको निर्माणमा संलग्न रहेर काम पूरा नगर्ने, बीचैमा छाडेर भाग्ने ठेकेदारलाई सम्बन्धित मन्त्रालयले छानबीन गरेपछि कारबाहीका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने बताए ।
प्रशिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सडक निर्माणमा भएको ढिलासुस्तीका बारेमा समेत चासो राख्दै उहाँले यस्तो बताएका हुन् । २०७२ को असारमा (कन्काई) कम्पनीले दुई वर्ष्भित्रै ग्राभेल गर्ने, नाली काट्ने कामसक्ने गरी सम्झौता गरे पनि हालसम्म काम पूरा नभएकोमा सञ्चारकर्मी लगायतले यस विषयमा मन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।
यसैबीच मुलुकका विभिन्न सीमा क्षेत्रमा निकट भविष्यमा नै जनशक्ति उत्पादन गरी सुरक्षा व्यवस्था मिलाइने पनि उहाँले बताए । अहिलेको जनशक्तिले सबैतिर धान्न नसक्ने भन्दै चाँडै यसको व्यवस्थापन गर्ने तर्फ केन्द्रित भएको उहाँको भनाइ छ ।
शनिबार नै जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको मन्त्री थापाले उद्घाटन गरे । एकवर्ष अघि करीब ६ करोडको लागतमा निर्माण भएको भवनको उहाँले उद्घाटन गरे ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले उत्तरी सीमा सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए । ताप्लेजुङ दुबै छिमेकीमूलुक चीन र भारतसँग जोडिएकाले सीमा क्षेत्रको रेखदेख तथा सुरक्षामा ध्यान दिन आवश्यक रहेको भन्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
पर्यटन प्रवद्र्धन, जलस्रोत तथा स्थानीय स्रोतसाधनको उपयोग लगायतका हिसाबले ताप्लेजुङ मुलुकै समृद्धिका लागि सम्पत्ति भएकाले यहाँको विकासमा चासो दिन उनले आग्रह गरे ।
त्यसैगरी मन्त्री थापाले जिल्लास्थित नेपाल कम्युनिष्ट पार्टीका अगुवा कार्यकर्तासँग भेटघाट गरेका छन् ।