प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीव्र विकास गर्न चाहेको बताउनुभएको छ ।
प्रदेश नं २ का सांसदहरुको सर्वदलीय प्रतिनिधिमण्डललाई बालुवाटारमा सम्बोधन गर्दै उहाँले देशको विकासका लागि हिमाल पहाड तराईका जनता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले विकासका लागि अरूको मुख ताक्ने र दोष अरूलाई दिएर आफू उम्कन नहुने भन्दै विकासका लागि आफैँ अग्रसर हुनुपर्ने बताउनुभयो ।
तराईको ठूलो जनसंख्या विदेशमा गएर काम गरिरहेकाले त्यो जनसंख्यालाई स्वदेशमै फर्काएर काममा लगाउनुपर्छ, उहाँले भन्नुभयो, “सरकार देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण, शान्ति सुव्यवस्था कायम गर्न लागिपरेको छ”
प्रधानमन्त्री ओलीले देशमा कृषिबाट क्रान्ति सम्भव हुने बताउँदै देशमा प्रशासनिक खर्च धेरै भएर विकासमा केही कठिनाइ भएको धारणा व्यक्त गर्नुभयो ।
सो अवसरमा सांसदहरुले प्रदेश नं २ मा कृषि तथा सिँचाइ, उद्योग, पर्यटन, यातायात, स्वास्थ्य, चुरे संरक्षण तथा नदी नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन गर्न प्रधानमन्त्रीसंग आग्रह गर्नुभयो ।
त्यसैगरी शिक्षा तथा खेलकूद, महिला हिंसा, अन्तर्राष्ट्रियस्तरको सभाहल तथा प्रधानमन्त्री तराई मधेश विशेष कार्यक्रम सञ्चालन गर्नपनि उनीहरुले प्रधानमन्त्रीसंग आग्रह गर्नुभयो ।