प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमण कुनै शर्त बेगर सार्वभौम प्रधानमन्त्रीका हैसियतमा भएको बताउनुभएको छ ।
मोदीको नेपाल भ्रमणबारे आइतबार संसदलाई जानकारी गराउँदै उहाँले नेपालको परराष्ट्र सम्वन्ध संघीय सरकारले संचालन गर्ने र त्यसका लागि परराष्ट्र मन्त्रालय रहेको भन्दै त्यसमा कुनै भ्रम नराख्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्री मोदी र आफूबीच एक अर्का देशका आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सहमति भएको उल्लेख गर्दै द्धिपक्षीय समस्या पारस्परिक परामर्श र हितका आधारमा समाधान गर्ने सहमति भएको बताउनुभयो ।
मलाई खुसी लागेको छ यसपटक प्रधानमन्त्री मोदीका अभिव्यक्तिहरुमा हाम्रा अखण्डता र सार्वभौमसत्ताको प्रश्न हाम्रा आवश्यकता र प्राथमिकता अनुसार हामी अगाडि बढेकोमा आफ्नो चित्त नदुख्ने र त्यसमा सहयोग गर्ने खुलस्त प्रकट भएको छ’ प्रधानमन्त्रीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय हित र स्वाभिमानमा कुनै तलमाथि नभएको बताउनुभयो । ‘अध्ययन गर्नु भएहुन्छ, वक्तव्यहरु सार्वजनिक छन् । कुनै शब्दमा पनि तलमाथि परेको छ भने म जिम्मा लिन्छु । राष्ट्रहितलाई शिरोधार्य गरिएको छ, मनमा राखिएको छ, कहिल्यै पनि छोडिएको छैन’ उहाँले भन्नुभयो ।