भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार पशुपतिनाथमा विशेष पूजाआजा एवं दर्शन गरेका छन् ।
मुक्तिनाथमा पूजा एवं दर्शनपछि प्रधानमन्त्री मोदी पशुपतिनाथ आइगेका थिए । पशुपतिनाथ मन्दिर परिसरमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष रवीन्द्र अधिकारीले स्वागत गरेका थिए ।
स्वागतमा कोषका सदस्य सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कोष सञ्चालक परिषद्का सदस्य, कोषका कर्मचारीलगायत श्रद्धालु भक्तजनको उपस्थिति थिए ।
भारतीय प्रधानमन्त्री मोदीले पूजाआजा एवं दर्शनका क्रममा मन्दिर परिसरमा ५० मिनेट बिताएका थिए । प्रधानमन्त्री मोदीलाई नेपाल वेद विद्याश्रमका १०८ ब्राह्मण बटुकले स्वस्तिवाचन सहित मूल मन्दिरभित्र स्वागत गरेका थिए । उनले पशुपति दर्शन विधिअनुसार पशुपति परिसरका मन्दिरको दर्शन एवं पूजा गरी मूल मन्दिरमा वैदिक रुद्राभिषेकसहित विशेष पूजा गरे । मन्दिरका मूल भट्ट गणेश भट्टले पूजा गराएका थिए ।
पूजापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै मन्त्री अधिकारीले मन्दिर परिसरमा भारतीय प्रधानमन्त्री मोदीले विशेष पूजा गरेका जानकारी दिए ।
मोदीले यसअघि २०७१ साउन १८ गते सोमबार पशुपतिनाथ मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए । त्यसबेला पूजापछि उनले पशुपति मूल मन्दिरको जीर्णोद्धारका लागि भारतीय रुपैयाँ २५ करोड, सरसफाइका लागि पाँच करोड सहयोग घोषणा गरेका थिए ।