प्रधानमन्त्री केपी शर्मा ओलीले देश र पार्टीको हितविपरीत नजान सांसदहरुलाई निर्देशन दिएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार बसेको नेकपा एमाले संसदीय दलको बैठकमा उनले जनताको सर्वोच्च निकाय स्थानमा रहेका जनप्रतिनिधिले उत्तेजनामा नआइकन संयमित भएर पार्टीको हितमा काम गर्न निर्देशन दिएका हुन् ।
एमाले अध्यक्ष ओलीले भने, ‘जनताको सर्वोच्चता जनाउने स्थानमा रहेका जनप्रतिनिधिले आवेश, उत्तेजनामा नचाहिँदो काम गर्न र बोल्न हुँदैन, पार्टी र राष्ट्रको हितमा काम गर्नुपर्छ ।’ उनले सम्पूर्ण सांसदहरुलाई एक ढिक्का भएर पार्टीको निर्देशनमा काम गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले जनताको म्यान्डेट जनप्रतिनिधिलाई भएको भन्दै सबै खालको सुधारका, प्रजातन्त्र र प्रशासनिक सुधारका लागि सबै खालको ‘सिन्डिकेट’ अन्त्य हुने बताए । उनले आइतबारदेखि बजेट अधिवेशन शुरु भएको हुँदा देश र जनताको हितप्रति निष्ठाका साथ आफ्नो कर्तव्यबाट पछाडि नहटी काम गर्न निर्देशन दिँदै सबै सांसदलाई रचनात्मक, सकारात्मक र समुचित ढंगले संसदमा प्रस्तुत भई भूमिका खेल्न निर्देशन दिए ।
बजेट निर्माण गर्दा सबै पक्षहरुसँग छलफल गर्न बजेट अधिवेशन तय गरेको र आफूले दिनुपर्ने सुझावहरु छोटो र लिखितरुपमा पेश गर्न उनले बैठकमा सुझाव दिए ।
प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका चरणमा पर्याप्त मात्रामा कानून निर्माण र संशोधन गर्नुपर्ने उल्लेख गर्दै कानूनको अभावबाट संविधान, सरकार, विकास निर्माणका काम नरोकिकन काम गर्न कानून निर्माण गर्ने काम भइरहेको बताए ।
प्रधानमन्त्री ओलीले सरकार मुलुकमा परिवर्तन ल्याउन आएको स्पष्ट पार्दै सो अभियानमा सबै एक ढिक्का भएर सामेल हुन निर्देशनसमेत दिए ।