‘
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा पुनमगर समुदायको कुलदेवता करबाकेली बाबाको अवसान भएको स्थानलाई लक्षित गरी ‘करबाकेली इको ट्रेक’ सञ्चालनको तयारी भएको छ ।
स्थानीयको सक्रियता र कन्सेप्ट नेपालको प्राविधिक सहयोगमा पदयात्रामा रमाउन चाहने पर्यटकलाई सुन्दर गन्तव्यका रुपमा टे«कको प्रचारप्रसार शुरु गरिएको करबाकेली इको ट्रेकका अध्यक्ष यामबहादुर पुनले बताउनुभयो । “जंगल सफारीका लागि यो पदमार्ग आकर्षक छ, प्राकृतिक सुन्दरताको रसस्वादन गर्न पर्यटक यहाँ आउने छन्” पुनले भन्नुभयो ।
“सरोकारावाला निकायसँग छलफलमा छौँ, अब व्यापक प्रचारप्रसारमा जुट्छौँ” पुनले भन्नुभयोे । पुनका अनुसार पाँचवटा मार्गको प्रयोग गर्ने गरी पदमार्ग तयार गरिएको छ । ४ नम्बर प्रदेशको राजधानी पोखराबाट विश्वकै पर्यटकीयस्थल घोरेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनीबजारसम्म पुग्ने गरी पदमार्गको प्रचारप्रसार गरिएको छ । विशेष गरी घोरेपानी, पुनहिलमा पुग्नलाई यस क्षेत्रमा ल्याउने स्थानीयको योजना छ ।
घोरेपानी, पुनहिलबाट सूर्योदयको अवलोकन गरेपछि देउराली हँुदै जंगल सफारी गरी करबाकेली आउने गरी पूर्वाधारसहितको पदमार्गलाई व्यवस्थित बनाउन लागिएको अगुवा चामबहादुर पुनले बताउनुभयो । सडकले पदमार्ग विस्थापित भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई यस पदमार्गमा आकर्षित गर्न सकिने प्रशस्तै आधार रहेको पुनले जानकारी दिनुभयो । पुनका अनुसार विश्वकै उत्कृष्ट गन्तव्य घोरेपानी, पुनहिल हुँदै घना जंगलबाट आउने पदमार्गलाई व्यवस्थित बनाइने योजना रहेको छ । घनाजंगलको बीचबाट विस्तार गरिएको पदमार्गमै पर्ने देउरालीमा सामुदायिक लजसमेत रहेको छ ।
गुराँसको सिजनमा आँखामै ठोकिने धौलागिरि, माछापुच्छे«लगायतका हिमालको दृष्यले समेत पर्यटकलाई आकर्षित गर्ने स्थानीयको भनाइ छ । करबाकेलीबाट गुर्जा, चुरेन, धौलागिरि अन्नपूर्ण, माछापुच्छे«लगायत आधा दर्जन हिमालसहित प्राकृतिक दृष्य, मगर जातिको वेषभूषामा सजिएका स्थानीय, जनजातिको कला र संस्कृतिलाई समेत अवलोकन गर्न पाइन्छ । शान्त, सुन्दर, सजिलो, छोटो र सस्तो पदयात्राका लागि यो मार्ग उपयुक्त रहेको छ ।
समुद्री सहतदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित काफलडाँडामा स्थानीय प्रविधि र सीपको प्रयोगबाट निर्माण गरिएको मन्दिरमा बहुमूल्य धातुका जलप लगाइएको मगर समुदायका देवीदेवता करबाकेलीबाबा, उनका दुई श्रीमती हिमला र फिमला, जेठा छोरा रामचन एवं कान्छा छोरा कुलचनका मूर्ति राखिएका छन् । पुन मगर समु्दायले करीब रु एक करोडभन्दा बढी चन्दा संकलन गरी मन्दिरसहितको भौतिक पूर्वाधार निर्माण गरेका छन् । स्थानीयले मन्दिरलाई राष्ट्रिय सम्पदाको रुपमा सूचीकृत गर्नुपर्ने माग गर्दै आइरहेका छन् । (रासस)