नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण अब कसैको इच्छा र लहडले नटर्ने बताएका छन् ।
महोत्तरीको बर्दिवासमा बुधबार नेकपा एमाले बर्दिवास नगर कमिटीले आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्था र कार्यभार’ विषयक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अब बाहिरी शक्ति मात्र नभई एमाले र माओवादी केन्द्रकै कुनै नेताको लहडले पनि एकीकरण नटर्ने बताएका हुन् ।
‘दुवै कम्युनिष्ट पार्टीबीच एकीकरणको कुरा अब घोषणा हुन् मात्र बाँकी छ’ उनले भने, ‘दुवै पक्षका नेताहरुको व्यस्तताका कारण एकीकरणको कामले अपेक्षित गति लिन नसकेको हो ।’ वैशाखभित्रै एकीकरण घोषणा भइसक्ने उनले दाबी गरे ।
‘दुबै पक्षका कार्यकर्ता र जनता एकीकरण पर्खेर बसेका छैन’, नेपालले भने, ‘यो पर्खाइ अब खेर जाँदैन ।’
प्रदेश नं २ को विकास र समृद्धिका लागि वामगठबन्धन र वर्तमान सरकारले योजनाबद्ध काम थाल्ने नेता नेपालले बताए । ‘हामी निकट भविष्यमै प्रदेश नं २ मा बृहद् उद्यम भेलाको आयोजन गर्दैछौँ’, उनले भने, ‘ प्रदेश नं २ को विकासका लागि संघीय सरकार प्रदेश सरकारसँग हातेमालो गर्दै अघि बढ्न तयार छ ।’
नेता नेपालले बर्दिवास–१४ स्थित राष्ट्रिय आधारभूत विद्यालय पुगेर आर्थिक रुपले कमजोर दुई बालबालिकालाई विद्यालय भर्ना गराई स्वेच्छिक अभिभावकत्व लिएका छन् । औरही–१ की सात वर्षीया सवनम खातुन र बर्दिवास–१४ का पाँच वर्षीय कृष्ण महराको अभिभावकत्व उनले लिएका हुन् ।