भक्तपुर जिल्लामा प्रत्येक वर्ष जबर्जस्ती करणीको घट्ना बढ्दै गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको करणीका घटनाको तथ्यांकअनुसार विगत ३ वर्षमा भक्तपुरमा ५८ जना महिला जबर्जस्ती करणीको घटनामा पीडित भएका छन् ।
परिसरले आयोजना गरेको ‘जबर्जस्ती करणी अपराध विश्लेषण तथा अनुसन्धान’ विषयक अन्तरक्रियामा प्रहरीले ३ वर्षको अवधिमा २५ जनामाथि करणीको प्रयास भएको तथ्यांक प्रहरीले सार्वजनिक गरेको हो ।
कार्यक्रममा भक्तपुरका जिल्लाका मुख्य न्यायाधीश भोजराज शर्माले अदालत र प्रशासनले मात्रै जबर्जस्ती करणीको घटनालाई न्यूनीकरण गर्न नसक्ने बताउँदै यसका लागि सबै निकायको सहयोग अपरिहार्य रहेको बताए । न्यायाधीश शर्माले भने, ‘अदालत, प्रशासन, सरकारी वकिल, स्थानीय निकाय, स्वास्थ्य संस्था, पत्रकार, मानव अधिकारकर्मी, नागरिक समाज र यससँग सरोकार राख्ने संघसंस्थाको सक्रिय र समन्वयात्मक भूमिकाले मात्र प्रभावकारी ढंगले जबर्जस्ती करणी अपराध नियन्त्रण गर्न सकिन्छ ।’
उनले अपराध अनुसन्धान कानूनी प्रक्रियामा आधारित हुने भए पनि अनुसन्धानको पाटो कमजोर हुने गरेको औँल्याउँदै उपकरणको अभावले समस्या परेको बताए । गरिबी र अशिक्षाका कारण नै यस्ता घटना घट्ने गरेको पाइएको चर्चा गर्दै उनले सरकारवादी जघन्य मुद्दामा अपराध अनुसन्धानलाई प्रभावकारी बनाउनु आवश्यक रहेकामा जोड दिए ।
त्यस अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालले महिला तथा बालिकामाथि हुने जबर्जस्ती करणीका घटना न्यूनीकरणका अब स्थानीय तहले पनि प्रमुख कार्यभार बनाएर अभियानकै रुपमा अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जबर्जस्ती करणी मेलमिलापमा जाने मुद्दा होइन भन्दै अब पीडकलाई नाङ्गेझार बनाएर कडा सजाय दिने गरी जिल्लामा तीनमहिने कार्ययोजना ल्याउन लागेको बताए ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले बलात्कारको घटना न्यूनीकरणका लागि समुदायलाई सचेत र सशक्त बनाउनुपर्ने बताए । महिला तथा बालबालिका कार्यालयका प्रमुख नीला घिमिरे, गट्ठाघर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष सुरेन्द्र बोगटी, महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक गोपाल ढकाल लगायतले पीडितलाई न्यायको पहुँचमा ल्याउन अदालती प्रक्रिया सहज र छिटो हुनुपर्नेमा जोड दिए ।
प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक किरण राणाले पछिल्लो समयमा भक्तपुरमा बलात्कारको घटना बढ्दै गएको बताउँदै चालु आर्थिक वर्षको हालसम्म मात्र १३ वटा जबर्जस्ती करणीका घटना र चार वटा जबर्जस्ती करणी उद्योगका घटना भएको जानकारी दिए ।
प्रहरी उपरीक्षक राणाले २०७१÷७२ मा २१, २०७२÷७३ मा १३ र २०७३÷७४ मा ११ जबर्जस्ती करणीका घटना भएको जानकारी दिनुभयो । त्यस्तै २०७१÷७२ मा सात, २०७२÷७३ मा नौ र २०७३÷७४ मा पाँचवटा जबर्जस्ती करणी उद्योगका घटना दर्ता भई आवश्यक कारबाही अगाडि बढाएको जानकारी दिए । जनसंख्या वृद्धि, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, उच्च जीवनशैलीको चाहना, कानून कार्यान्वयनमा फितलोपन तथा सांस्कृतिक विचलन जस्ता कारणले जबर्जस्ती करणीका घटना बढिरहेको प्रहरीले भनाइ छ ।