इरानको केरमानशाह प्रान्तमा आइतबार ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा परी दर्जनौँ मानिस घाइते भएकोे प्रारम्भिक जानकारी इरानका वरिष्ठ स्वास्थ्य अधिकारीले तस्निम न्यूज एजेन्सीलाई बताएका छन् ।
‘भूकम्पमा परी २३ जना घाइते भएका र यो तथ्यांक प्रारम्भिक भएकाले घाइतेको संख्यामा थपवृद्धि हुनसक्ने अनुमान गरिएको छ’, वरिष्ठ चिकित्सक मजियार तहमासेवीले बताए ।
दिउसो १ बजेर ३५ मिनेटको समयमा गएको भूकम्पको केन्द्रविन्दु सारपोल जहाव शहरमा रहेको इरानले जनाएको छ । भूकम्प ३४.४२१ डिग्री उत्तरी अक्षांश र ४५.८०७ डिग्री पूर्वी देशान्तरमा ८ किलोमिटरको गहिराइमा गएको जनाइएको छ ।
गत नोभेम्बरमा इरानमा ७.३ म्याग्निच्युडको भूकम्प जाँदा ५३० जनाको मृत्यु भएको थियो भने आठ हजार व्यक्ति घाइते भएका थिए । (सिन्ह्वा)
























