काठमाडौँ, नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा संघीय संरचनाअनुसार पार्टीको संरचनालाई अघि बढाउन तत्काल महासमिति बैठक बोलाएर विधान संशोधन गर्न सुझाव दिइएको छ ।
निर्वाचनको समीक्षा गर्न शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा अधिकाँश केन्द्रीय सदस्यले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनको नेतृत्व गरेका नेपाली काँग्रेस अरुका कारण नभई आफ्नै कमी कमजोरीका कारण अहिले कमजोर जस्तो देखिन पुगेको धारणा राख्नुभएको थियो ।
बैठकमा केन्द्रीय सदस्य आनन्द ढुंगानाले महासमितिको बैठक बोलाएर संघीय संरचनाअनुसार पार्टीलाई अघि बढाउन विधान संशोधनलगायतका विषयलाई अघि बढाउनुपर्ने सुझाव दिनुभएको थियो ।
केन्द्रीय सदस्य शेखर कोइरालाले १६५ क्षेत्रमै केन्द्रले प्रतिनिधि पठाएर सुक्ष्म ढंगले समीक्षा गर्न, पदाधिकारी नथप्न, वैशाख महिनाभित्र महासमितिको बैठकको मिति तोक्न तथा संघीय र प्रादेशिक संरचनाअनुसार पार्टीको विधानमा व्यापक संशोधन गर्न माग गर्नुभयो ।
उहाँले २०७५ चैत या २०७६ वैशाखभित्र पार्टीको १४औँ महाधिवेशन गर्न पनि सुझाव दिनुभयो ।
त्यस्तै केन्द्रीय सदस्य सरिता प्रसार्इंले पार्टीभित्र पहिला देखिएका कमी कमजोरीलाई सुधार गर्दै लैजानुपर्ने तथा संघीय संरचनाअनुरुप पार्टीलाई अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।
संगठनको निष्क्रियता र भ्रातृ संगठनको भूमिकाहीनताका कारण पार्टीले प्रभावकारी भूमिका खेल्न नसक्दा काँग्रेसले निर्वाचनको परिणाम सोचेअनुरूप हात पार्न नसकेको उहाँले टिप्पणी गर्नुभयो ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा केन्द्रीय सदस्य शेखर कोइराला, रामकृष्ण यादव, बलबहादुर केसी, बालकृष्ण पाण्डेलगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।