महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ उत्सव मनाइँदैछ ।
चार दिनसम्म विभिन्न विधिहरू गर्दै मनाइने चैती छठको तेस्रो दिन आज महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत जिल्लाका जलाशयमा अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरिँदैछ ।
मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठका व्रतालु आज निराहार कठोर व्रत गरिरहेका छन् । गत बुधबार चैत शुक्ल चौथीका दिन पवित्र स्नान गरेर ‘नहाय खाय’ विधिबाट व्रतालुले यसपालिको चैती छठ पर्वको संकल्प गरेका थिए ।
व्रतालुले बिहीबार पञ्चमी तिथिमा दिनभर निराहार व्रत बसेर राति सख्खरमा पकाइएको अलिनो खिर इष्टदेवतालाई चढाएर प्रसादस्वरूप खाएर ‘खरना’ विधि सम्पन्न गरेका छन् । यस पर्वमा षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार र फलपूmल देखाएर अघ्र्य दिइन्छ । यसलाई ‘सझुका अरख’ भन्ने गरिन्छ ।
आज निराहार व्रत बसेका व्रतालुले रातभरि जाग्राम बसेर भोलि सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई उनै (सझुका अरखकै) पूजा सामग्रीले अघ्र्य दिएपछि पर्व सम्पन्न हुन्छ ।
वर्षमा शारदीय र वासन्ती गरी दुई पटक छठ मनाइने परम्परा छ । एक दशकअघिसम्म चैती छठको त्यति प्रचलन नभए पनि केही वर्षयता यो पर्व मनाउने परम्परा बढेको छ । कात्तिक शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय र चैत शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई चैती छठ भन्ने गरिएको छ ।
दुवै व्रतका व्रत विधि र पर्व सामग्री भने समान छन् । सूर्यको उपासना गरिने यो पर्व मिथिला लोकसंस्कृतिको प्रतीक मानिन्छ । यस व्रतको प्रभावले सुख, सन्तोष प्राप्त हुने र मनवाञ्छित फल पाइने जनविश्वास रहँदै आएको छ ।
महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत शहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाऊ, नदी तथा नहरको किनारमा चैती छठ पर्व मनाइँदै छ । सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङक्षा पुराहोस भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा भक्तजनको भीड लाग्छ ।
षष्ठीका दिन आज साँझ गहुँ र चामलको पिठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरीया, पेरुकिया जस्ता पकवान र विभिन्न फलपूmल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा, कोनिया, सरवा, ढाकन, ठूलो ढाक्कीमा राखेर परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्तिगीत एवं लोकगीत गाउँदै जलाशय नजिक बनाइएको छठ घाटसम्म पुग्ने गर्छन् । अस्ताउँदो सूर्यको आराधना गर्दै अघ्र्य दिँदै चैती छठ मनाइन्छ ।