प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा २०८ सांसदको विश्वासको मत प्राप्त गरेका छन् । विपक्षमा ६० मत परेको छ ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा नेपालको संविधानको धारा ७६ को उपधारा ९४० बमोजिम विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गरिएको थियो ।
प्रतिनिधिसभाका २७५ सदस्यमध्ये बैठकमा जम्मा २६८ सांसद उपस्थित थिए । नेपाली काँग्रेसका सांसदले प्रधानमन्त्रीको विपक्षमा मतदान गरेका थिए भने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल निर्वाचन प्रकृयामा सहभागी भएनन् । नयाँ शक्ति पार्टी नेपालका सांसद डा. बाबुराम भट्टराई नेपाल बाहिर छन् ।
उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा उनलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्रका सांसदले समर्थन गरेका छन् ।
मत विभाजनअघि पाँच मिनेट जनाउ घण्टी बजाइएको थियो । त्यसपछि सभामुखको आसनको दाँया कक्षमा राखिएको वर्णानुक्रमानुसारको नामावलीमा हस्ताक्षर गरी सांसदहरुले प्रधानमन्त्रीको पक्षमा मत व्यक्त गरेका थिए भने सभामुखको आसनको बाँया कक्षमा राखिएको वर्णानुक्रमानुसारको नामावलीमा हस्ताक्षर गरी सांसदले प्रधानमन्त्रीको विपक्षमा हस्ताक्षर गरेका थिए ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले संविधानअनुसार आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिउका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन ३ गते एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
संविधानअनुसार प्रधानमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान छ ।
संविधानअनुसार प्रतिनिधिसभामा १६५ प्रत्यक्ष निर्वा्चित र ११० समानुपातिक गरी कुल २७५ सांसद छन् । गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले १२१, नेपाली काँग्रेसले ६३, माओवादी केन्द्रले ५३, राजपा नेपालले १७, संघीय समाजवादी फोरमले १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक÷एक र स्वतन्त्रले एक स्थानमा विजयी हासिल गरेका थिए । (रासस)
























