प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो फागुनमा प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिको आइतबारको बैठकमा सो मितिमा सहमति भएको संघीय संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले बताए ।
प्रधानमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने प्रावधान संविधानको धारा ७६(४)मा व्यवस्था छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष तथा प्रतिनिधिसमाभा नवनिर्वाचित सदस्य ओलीलाई गएको ३ फागुनमा प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । बैठकले दुवै सदनका सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्षको निर्वाचनको तालिकासमेत स्वीकृत गरेको प्रवक्ता डा गौतमले बताए ।
निर्वाचन तालिकानुसार सभामुखको निर्वाचन फागुन २६, राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन ३०, उपसभामुखको निर्वाचन आगामी चैत २ र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत ४ गतेका लागि निर्धारण भएको छ ।
संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र दुवै सदनका सभामुख र उपसभामुख तथा अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बैठकमा संघीय संसद् सञ्चालनका लागि तत्काल आवश्यक पर्ने अन्तरिम कार्य्विधिलाई सामान्य संशोधनसहित फागुन २१ को पहिलो बैठकमा प्रस्तुत गरिने र सोमबार नै पारित गरिने सहमति भएको उनले बताए ।