नवनियुक्त गृहमन्त्री रामबहादुर थापाले मुलुकको समृद्धिका लागि शान्ति सुरक्षा र सुशासन पहिलो शर्त भएको बताएका छन् ।
मन्त्रालयमा सोमबार पदबहालीपछि मातहतका कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिँदै उनले भने, ‘निर्वाचनपछिको राजनीतिक स्थायित्वले मुलुक र जनताको हितमा काम गर्ने ऐतिहासिक अवसर आएको छ, यसलाई अवसरका रुपमा लिनुपर्छ ।’ उनले जनअपेक्षानुसार काम गर्न आफ्नो क्षमताले भ्याएसम्म काम गरिने प्रतिबद्धता व्यक्त गर्दै यसमा आइपर्ने चुनौतीको सामना गर्न सबैको सहयोगको अपेक्षा पनि गरे ।
मन्त्रालयमा यसअघिका राम्रा कामलाई निरन्तरता दिइने र सकारात्मक कामको अनुसरण गरिने बताउँदै उनले कर्मचारी र सुरक्षाकर्मीको वृत्तिविकासमा देखिएका समस्या समाधानका लागि पनि आवश्यक पहल गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।
विसं २०१२ मा गुल्मीमा जन्मनुभएका मन्त्री थापाले विद्यालयस्तरको शिक्षा नेपाल तथा भारतका विभिन्न विद्यालयबाट र उच्च शिक्षा रुसको पेट्रिस लुमुम्बा विश्वविद्यालयबाट हासिल गरेका छन् ।
४५ वर्षदेखि राजनीतिमा सक्रिय उनले यसअघि पहिलो संविधानसभा सदस्यमा निर्वाचित हुनाका साथै रक्षा मन्त्रालयको जिम्मेवारी निर्वाह गरिसकेका छन् । पार्टीमा महासचिवको जिम्मेवारी निर्वाह गरिसकेका उनी हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्य हुन् ।