शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि हाल दक्षिण कोरियामा रहेको उत्तर कोरियाको उच्चस्तरीय प्रतिनिधिमण्डलले शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपतिसँग भेट गरेको छ ।
उक्त प्रतिनिधिमण्डलको नेतामा उत्तर कोरियाको संसद्का प्रमुख तथा यहाँको राजनीतिक प्रणालीअनुसार आलंकारिक राष्ट्रपतिसमेत मानिनुहुने किम योङ नाम रहेका छन् । उनका साथै उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी पनि रहेका छन् ।
उनकी बहिनी किम यो जोङ पनि उत्तर कोरियाली सत्तारुढ वर्कस् पार्टीको केन्द्रीय समितिको उपनिर्देशक छन् । यी दुई कोरियाको इतिहासमा यति उच्च तहको सरकारी प्रतिनिधिमण्डलबाट गरिएको यो धेरै लामो समयपछिको भ्रमण हो ।
उनीहरु दुई जनासहितको चार सदस्यीय प्रतिनिधिमण्डल शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनको कार्यालयमा ब्लु हाउसमा पुगेका थिए । उक्त प्रतिनिधिमण्डल दक्षिण कोरियामा हिजोबाट सुरु भएको शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन सत्रमा सहभागिताका लागि शुक्रबार दक्षिण कोरियाको राजधानी सोल पुगेका थिए ।
यस भ्रमण तथा दक्षिण कोरियाका राष्ट्रपतिसमक्ष भएको यस भेटघाटलाई दुई कोरियाको इतिहासमा एक महत्वपूर्ण घटनाका रुपमा लिइएको बताइएको यहाँका स्थनीय तथा राष्ट्रियस्तरका सञ्चारमाध्यमले जनाएका छन् ।