काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले सोनम ल्होछार २०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले विविधताले भरिपूर्ण समृद्ध नेपाली संस्कृतिभित्रको तामाङ जाति तथा समुदायले मनाउने चाड पर्व र अपनाएको साँस्कृतिक परम्पराको बेग्लै महत्व रहेको उल्लेख गर्नुभएको छ ।
यस्ता चाडपर्वले राष्ट्रिय एकता सुदृढ पार्न र जातजातिबीच सामाजिक सद्भाव अभिवृद्धि गर्न सफल हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले यस्ता चाडपर्व र संस्कृतिको संरक्षण तथा सम्बद्र्धन गर्न सके विश्वसामु नेपाल र नेपालीको पहिचान सदा कायम राख्न सकिने बताउनुभएको छ ।
सोनम ल्होछार पर्वले सबै नेपालीमा नयाँ उत्साह र उमंग बढाओस् र देशमा शान्ति, समृद्धि र सहिष्णुता कायम गरी आर्थिक र सामाजिक रुपले समृद्ध नेपाल निर्माण गर्ने महाअभियानमा लाग्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।
तामाङ समुदायमा यस पर्वलाई नयाँ वर्ष र न्वागी पूजाका रुपमा हर्षोल्लासका साथ आपसमा मनोरञ्जन र खुशी साटासाट गरी मनाउने प्रचलन छ ।