नेपालमा जातीय सद्भाव, धार्मिक सहिष्णुता, राष्ट्रिय एकताका पक्षमा निरन्तर आवाज उठाइरहने आदिवासी जनजाति आन्दोलनका अगुवा नेता विकासको पक्षमा अहोरात्र खट्ने र नेकपा एमालेका शालिन र इमान्दार नेता हुन् कृपासुर शेर्पा । जो, २०७० सालको दोस्रो संविधानसभामा भोजपुर क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित पूर्वसांसद एवं पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री शेर्पासँग वर्तमान राजनीति सेरोफेरोमा केन्द्रित रहेर मार्गदर्शनले गरेको कुराकानी :
‘पार्टीले नेताको क्षमता, योग्यता, कार्यशैली र अगाडिको पृष्ठभूमि हेरेर उपयुक्त जिम्मेवारी दिने कुरामा कुनै दुईमत छैन । तर, जसले जे जिम्मेवारी पाउँछ, त्यो सहर्ष स्वीकार गरेर हिड्नुपर्छ’
सरकार कहिलेसम्ममा बन्छ ?
बहुमत प्राप्त गरेको बामगठबन्धनलाई चाँडो सरकार हस्तान्तरण गर्नु पर्नेमा यो काम चलाउ सरकारले नयाँ सरकारको गठनको प्रक्रिया अवरोध गर्नु अत्यन्तै दुःखद कुरा हो । चाँडोभन्दा चाँडो सरकार गठन गर्न मार्ग प्रसस्त गर्नुपर्छ ।
प्रधानमन्त्रीले सरकार लम्ब्याउनको पछाडि केही कारण छ ?
प्रधानमन्त्रीभन्दा पनि निर्वाचन आयोगको भूमिका स्वच्छ, निष्पक्ष र पारदर्शी देखिएन । नयाँ सरकार गठनको प्रक्रिया अवरोध गर्ने काम निर्वाचन आयोगबाट भएको छ । सरकार र निर्वाचन आयोगको साँठगाँठमा नै यो निर्वाचन परिणाम अवरुद्ध भएको हो । यसमा निर्वाचन आयोग सरकारको गोटी बन्नु अत्यन्त विडम्बनापूर्ण हो ।
निर्वाचन आयोगले परिणाम सार्वजनिक नगर्नुको मुख्य कारण के हो ?
संवैधानिक व्यवस्था अनुसार कहिँकतै अवरोध छैन । तर, आयोगले विभिन्न बखेडा राखेर निर्वाचन परिणाम रोक्नु न्याय संगत होइन । निर्वाचन आयोग पर्दा पछाडिको ब्ल्याक मेलिङमा परेको छ । तर, जनताको अभिमतलाई यसरी रोक्नु देश र जनताप्रतिको अपमान हो ।
पार्टी एकिकरण कहिलेसम्ममा हुन्छ ? सरकार गठन अगावै कि पछाडि ?
सरकार बन्नुभन्दा अगाडि नै पार्टी एकिरकण हुनपर्छ भन्ने दुवै दलका नेताहरुको चाहना छ । तर, दुई वटा ठूला दलको पार्टी एकिरकण हचुवाको तालमा त गर्नु भएन नि । त्यसका लागि विचार, सिद्धान्त र कार्यदिशा तथा नेताहरुको उपयुक्त व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसैले यसमा शीर्ष नेताहरुले गृहकार्य गर्दै हुनुहुन्छ । जहाँसम्म एकिकरणको कुरा समयले भ्याएसम्म सरकार गठन अगाडि पनि हुनसक्छ । यदि काम गदै जाँदा समयले भ्याइएन भने सरकार गठन पछाडि हुन्छ । पार्टी एकिकरण हुने कुरामा कुनै शंका छैन ।
यत्रा ठूला नेताहरुको व्यवस्थापन कसरी हुन्छ ?
पार्टीले नेताको क्षमता, योग्यता, कार्यशैली र अगाडिको पृष्ठभूमि हेरेर उपयुक्त जिम्मेवारी दिने कुरामा कुनै दुईमत छैन । तर, जसले जे जिम्मेवारी पाउँछ, त्यो सहर्ष स्वीकार गरेर हिड्नुपर्छ ।
तपाइँ प्रतिनिधिसभा, प्रदेशसभा कतै पनि उठ्नु भएन । तपाइँको चाहना राष्ट्रियसभा तिर हो ?
म पार्टी नेतृत्वले गरेको निर्णय पालना गर्ने मान्छे र अरुलाई पनि पार्टीको निर्णय तलमाथि गर्नु हुँदैन भनेर सुझाव दिने मान्छे हुँ म । बामगठबन्धन सँगै मिलेर निर्वाचनमा जाने निर्णय गरियो । र, त्यो निर्णय अनुसार मैले टिकट पाइनँ । त्यसमा मेरो केही गुनासो छैन । तर, पार्टी नेतृत्वलाई आफ्ना नेता तथा कार्यकर्तालाई कहाँ व्यवस्थापन गर्नुपर्छ भन्ने थाहा छ । र, मेरो बारेमा पनि पार्टी पंक्तिलाई थाहै छ होला । पार्टीले जे भन्छ, म त्यो मान्न तयार छु । म पार्टीको एउटा वफादार र इमान्दार सिपाही हुँ ।
राष्ट्रियसभामा कस्ता खालका व्यक्ति जाँदा उपयुक्त हुन्छ ?
बामगठबन्धनको कार्यदलले एउटा मापदण्ड बनाएको छ । त्यो मापदण्डअनुसार नै व्यक्तिहरुको छनोट होस् भन्ने मेरो मान्यता हो । जसले गरेको निर्णय हामी सबैले मान्नुपर्छ । सही मान्छेलाई सही जिम्मेवारी दिओस् । नेतृत्वले यसरी नै सोच्नुपर्छ ।