। नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न सरकारले आवश्यक ऐन कानून तर्जुमा गरेको बताउँदै त्यसमा निजी क्षेत्रको संलग्नतालाई उच्च महत्व दिइएको स्पष्ट गर्नुभएको छ ।
आज यहाँ आयोजित ‘नेपाल–कोरिया व्यापार रात्रि’ लाई सम्बोधन गर्दै उहाँले निजी क्षेत्रको विकासका साथै आर्थिक समृद्धि हासिल गर्न सरकारका नीति तथा कार्यक्रमबमोजिम केन्द्रीय बैंकले मौद्रिक एवम् वित्तीय ऐनकानून बनाएको बताउनुभयो ।
उहाँले वैदेशिक लगानी भित्र्याउन विश्वका विभिन्न मुलुकसँग द्विपक्षीय लगानी प्रवद्र्धन सम्झौता भएको चर्चा गर्दै दक्षिण कोरियाले नेपालको सामाजिक, आर्थिक विकासमा गरेको योगदानको प्रशंसा गर्नुभयो ।
नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपालमा राजनीतिक स्थायित्व कायम भई आर्थिक विकासका गतिविधिले गति लिने विश्वास व्यक्त गर्दै कोरिया र नेपालबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको बताउनुभयो ।
नेपालको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको पर्यटन, कृषि र जलविद्युत्को विकास गर्न सके नेपाल आर्थिक रुपमा समृद्धि देश बन्नेमा आफू ढुक्क रहेको बताउँदै यहाँको गरिबी हटाउने मुख्य तत्व कृषि र पर्यटन नै हो भन्नुभयो ।
कोरिया र नेपालबीच द्विपक्षीय व्यापार नगण्य मात्रामा भएकाले त्यसको बढोत्तरीका निम्ति आफूले सक्दो प्रयोस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल–कोरिया उद्योग वाणिज्य संघका अध्यक्ष किरण साखले उपयुक्त नीति र वातावरणको अभावमा नेपाली उद्यमी व्यवसायीले व्यापार गर्न नसकेको गुनासो गर्दै चुनावको अन्त्यसँगै संक्रमणकालसमेत सकिने र त्यसले देशमा स्थायित्व ल्याउने विश्वास व्यक्त गर्नुभयो ।