अछाम, नेकपा (एमाले) का उपाध्यक्ष तथा निर्वाचन अछाम क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार भीम रावलले एमाले र माओवादी केन्द्रबीचको गठबन्धनले स्थिर सरकार निर्माणसँगै राष्ट्र समृद्धिको दिशातिर अघि बढ्ने बताउनुभएको छ ।
सञ्चारकर्मीसँग साँफेबगरमा बुधबार कुराकानी गर्दै पूर्व उपप्रधानमन्त्री रावलले वामपन्थी तालमेल र पार्टी एकता राष्ट्रको ऐतिहासिक आवश्यकता भएको बताउनुभयो । नेता रावलले संविधानले सामाजिक–आर्थिक रुपान्तरणसहित समाजवाद उन्मुख व्यवस्थातर्फ मार्गनिर्देशन गरेकाले उक्त काम वाम गठबन्धनले मात्रै गर्नसक्ने बताउनुभयो ।
उहाँले वाम गठबन्धनले देशको आर्थिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “काँग्रेसका नेताहरु चुनाव हार्ने डरले अहिले वाम गठबन्धनको शासन आए राष्ट्रको लागि अनिष्ट हुने भन्दै अभिव्यक्ति दिन थालेका छन् ।” पूर्व उपप्रधानमन्त्री रावलले भन्नुभयो– “वाम गठबन्धन र एकताले राष्ट्रको लागि अनिष्ट नहुने भई काँग्रेसका लागि मात्र अनिष्ट हुनेछ ।” उहाँले भन्नुभयो वाम गठबन्धनले मंसिर २१ गतेपछि दुई तिहाइ बहुमत ल्याएर विजयी भएपछि काँग्रेसका लागि पक्कै अनिष्ट हुनेछ ।
“हामी समाजवादतर्फ त जाने नै हो ।” उहाँले भन्नुभयो– “गाँस, बास, कपास मात्रै होइन, सम्पूर्ण आधारभूत आवश्यकता, सुरक्षा दिने, सम्मानित भएर बाँच्न सक्ने, जनताका निम्ति हेरविचार गर्ने सरकार निर्माण गर्छौं, त्यसैका लागि वाम गठबन्धनलाई भोट दिनुपर्छ ।” अबको सत्ता पूँजीपतिका लागि मात्र नभई जनताका लागि हुने भन्दै रावलले त्यही सत्ता नै समाजवाद भएको बताउनुभयो ।
अहिले वाम गठबन्धनप्रति जनताको विश्वास रहेको भन्दै रावलले एकता प्रयासलाई समेत सकारात्मक रुपमा लिएको र वाम गठबन्धनले चुनावपछि जनताले चाहेको सरकार गठन गर्ने बताउनुभयो ।