– विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली अबुधावी,
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अबुधावीस्थित शेख जायद ग्रान्ड मस्क (मस्जिद) को अवलोकन गर्नुभयो । राष्ट्रपति भण्डारी ग्रान्ड मस्क पुग्नुहुँदा त्यहाँका महानिर्देशक शेख युसिफ अल ओबाइदीले उहाँलाई स्वागत गर्नुभयो । महानिर्देशक अल ओबाइदी तथा अन्य अधिकारीहरुले राष्ट्रपति भण्डारीलाई ग्रान्ड मस्कका विभिन्न पक्षका विषयमा जानकारी दिनुभएको थियो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले ग्रान्ड मस्कमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो भने उहाँलाई उक्त केन्द्रका तर्फबाट मस्जिदको इतिहास तथा कलासम्बन्धी पुस्तक उपहारस्वरुप दिइएको थियो । उक्त अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द, नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन पनि उपस्थित हुनुहुन्थ्यो । शेख जायद ग्रान्ड मस्कलाई यस मुलुकमा प्रमुख प्रार्थनास्थलको रूपमा लिइन्छ । यसको डिजाइन सिरियाली वास्तुविद् युसेफ अब्देल्कीले गर्नुभएको हो ।