(रासस÷एएफपी) दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियाले कहिल्यै पनि आणविक अश्त्र नबनाउने बताउनुभएको छ ।
दक्षिण कोरियाली संसदलाई बुधबार सम्बोधन गर्दै उहाँले भन्नुभयो– दक्षिण कोरियाले अरु कुनै देशसँग आणविक हतियारको होड गर्नेछैन र यस्तो अश्त्र पनि बनाउने छैन ।
उहाँले दक्षिण कोरियाली सरकारको अहिलेको उद्देश्य र सिद्धान्त भनेको निशस्त्रीकरण रहेकोले यसका माध्यमबाट कोरियाली प्रायद्वीपमा शान्ति स्थापना हुने अपेक्षा गरिएको पनि सो सम्बोधनका क्रममा बताउनुभएको थियो ।
उहाँले आफ्नो सरकारले विशेषगरी कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाको कार्यलाई पहिलो प्राथमिकतामा राखेको भन्दै यसका माध्यमबाट समग्र एसिया तथा क्षेत्रीय रुपमा शान्तिका लागि सहयोग पुग्ने धारणा पनि राख्नुभयो ।
यस क्षेत्रमा स्थायित्व र शान्तिको आवश्यकता छ भन्ने कुरामा आफ्नो सरकार प्रतिबद्ध रहेको र यसका लागि दक्षिण कोरियाले ठूलो प्रयत्न गरिरहेको धारणा पनि सो सम्बोधनका क्रममा राख्नुभएको थियो ।
बुधबार उहाँले गर्नुभएको यो सम्बोधन उहाँ राष्ट्रपति भएपछिको दोस्रो सम्बोधन हो । उहाँले आफ्नो यस सम्बोधनका क्रममा निशस्त्रीकरणलाई नै बढी मात्रामा जोड दिनुभएको थियो ।