पूर्व राष्ट्रपति डा रामवरण यादवले लोकतन्त्रलाई संस्थागत विकास गराउँदै जीवन्त बनाउन कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले एकअर्कालाई सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले भन्नुभयो “ती तीन अंगबीच एक अर्काका सम्मानले लोकतन्त्रलाई बलियो बनाउने हो, संविधानले पनि यही परिकल्पना गरेको छ, यसलाई आत्मसात् गर्दै अगाडि बढ्न म आह्वान गर्छु ।”
सुशील कोइराला मेमोरियल फाउण्डेशनद्वारा संविधान दिवसका अवसरमा ‘स्थानीय तहको निर्वाचन र संविधान कार्यान्वयन’ विषयक आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति डा यादवले स्थानीय निकाय र प्रदेश÷प्रतिनिधि सभाका निर्वाचन सम्पन्नपछि मात्र संविधान कार्यान्वयनमा आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो “पछिल्लो स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले भाग लिनु सकारात्मक हो, आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाका निर्वाचनमा पनि यस्तै सहभागिता रहने मैले विश्वास लिएको छु ।”
पूर्व राष्ट्रपति डा यादवले निर्वाचनमा लामो समयदेखि दलमा मूल्य मान्यतामा आस्थावान तथा निष्ठावान् व्यक्तिले टिकट नपाई क्रसर र डोजर उद्योगी तथा पैसावालाले पाएकामा चिन्ता व्यक्त गर्दै यस्तो अवस्था आउन दिन नहुने बताउनुभयो ।