सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनसंगै मुलुकलाई आर्थिक संमृद्धितर्फ लैजान सबै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभएको छ ।
मध्यपुर ब्याइज ब्याण्डले मध्यपुरथिमिको गठ्ठाघरमा विजया दशमी तथा दीपावलीको अवसरमा आयोजना गरेको ओपन रोड शो को उद्घाटन गर्दै उहाँले भन्नुभयो–“प्रदेश र प्रतिनिधिसभाको आगामी निर्वाचनलाई भब्यताका साथ सफल गरेर मुलुकमा देखिएको राजनीतिक अन्र्यौलता, अस्थिरता र राजनीतिक वादविवाद अन्त्य गरी मुलुकको आर्थिक विकास एवं समृद्धिका लागि सबै लाग्नुपर्छ ।”
मन्त्री बस्नेतले मुलुकप्रतिको दायित्व निर्वाह गर्न युवा वर्गको भूमिका महत्वपूर्ण हुने बताउँदै संविधानलाई कार्यान्वयन गरेर राजनीतिक निकास दिनुपर्नेमा जोड दिनुभयो ।
सञ्चार मन्त्रालयले तीन महिनाभित्र यो देशलाई के दिनसक्छ भनेर आफूले दिनरात काम गरिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो–“मेरो मन्त्रालयको जिम्मेवारी पूरा गर्न र थोरै समयमा यो मुलुकका जनतालाई परिवर्तनको अनुभूति दिलाउने गरी काम गर्न मैले दिनरात काम गरिरहेको छु ।”
मन्त्री बस्नेतले नेपाली जनताले चाहेजस्तै गरी काम गर्नसक्ने वातावरण अब सिर्जना हुने बताउँदै संविधान कार्यान्वयनले मुलुक प्रगतितर्फ फड्को मार्ने धारणा व्यक्त गर्नुभयो । (रासस)