शान्ति सुरक्षाको स्थिति कस्तो छ ?
असोज २ गते हुने निर्वाचनलाई मध्येनजर गरेर स्थिति पहिले भन्दा बलियो बनाएका छौं । निर्वाचनलाई लिएर नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान गरी हामी सबै सुरक्षा निकाय व्यापक रुपमा परिचालन भएका छौं । त्यसैले सुरक्षा प्रवन्ध अत्यन्तै राम्रो छ ।
जनताले ढुक्क भएर मतदान गर्न सक्छन् ?
स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुन गइरहेको छ, सवै राजनीतिक दलहरुले भाग लिएका कारण पनि २ नम्वर प्रवेश सामान्य अवस्थामा नै छ । अनि शान्ति सुरक्षा पनि मजवुत बनाएकाले ढुक्कसँग आफ्नो मताधिकार प्रयोग गर्न कुनै समस्या छैन । जनताहरुमा उत्साह छ । लामो समयपछि स्थानीय निर्वाचन भएकाले पनि मत खसाल्न यहाँका जनताहरु आतुर देखिन्छन् । आफ्नो मन परेको दल र प्रतिनिधि छान्न जनता लालायित छन् ।
कुनै निर्वाचन क्षेत्र सुरक्षाको हिसावले सम्वेदनशील छन् ?
पहिले पहिले निर्वाचनमा बुथ कव्जा हुने, झडप हुने निर्वाचन विथोल्ने गतिविधि भएकै हो । तर हामी ती कुराहरुमा सजग छौ । यसपालीको सुरक्षा व्यवस्था अत्यन्त कडा र व्यवस्थित छ । त्यसैले कुनै पनि त्यस्ता खालका घटना हुन दिदंैनौ । निर्वाचन स्वतन्त्र, पारदर्शी र निष्पक्ष हुनेमा म ढुक्क छु र सवैमा त्यही विश्वास दिलाउन चाहन्छु । तपाईले भने जस्तो सुरक्षाको हिसावले सम्वेदनशील एरिया भने छैन ।
निर्वाचनको बेलामा नेपाल–भारत सीमा बन्द हुन्छ होइन ?
२२ गते बारा सिमरामा सवै सुरक्षा निकायका प्रतिनिधिसँग छलफल भएको छ । निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्न ७२ घण्टा नेपाल भारत सीमा बन्द हुन्छ । त्यसैले निर्वाचनका बेला हुन सक्ने अपराधिक गतिविधि निस्तेज हुन्छ । नेपाल भारत दुवै पक्ष सुरक्षा निकयाको समन्वयमा सीमा शिल गरिन्छ ।
तस्करी र गुण्डागर्दीमा नियन्त्रण भएको छ कि छैन ?
सशस्त्र प्रहरी बलले आफ्नो काम कर्तव्यप्रति सधैं सजग छ । मैले मध्यक्षेत्रको जिम्मेवारी लिएपछि शान्तिसुरक्षा पनि सुदृढ भएको छ भने तस्करी नियन्त्रण भएको छ । राजस्वमा पनि वृद्धि भएको कुरा जानकारी गराउँदछु । गृहमन्त्रालय र संगठनले दिएको जिम्मेवारी मैले अत्यन्तै मेहनतका साथ सम्वेदनशील भएर काम गरिरहेको छु । आजसम्म कुनै पनि किसिमको अप्रिय घटना घटेको छैन । घट्ना घट्न दिने छैन । यो मेरो आत्मविश्वास हो । मैले सवै पक्षको साथ र सहयोग पाइरहेको छु ।
समग्रमा दुई नम्वर प्रदेशको शान्ति सुरक्षाको स्थिति राम्रो छ ?
दुई नम्वर प्रदेशमा शान्ति सुक्षाको स्थिति एकदमै राम्रो छ । भर्खरै मात्रै जनकपुरमा गृहमन्त्रीले सम्पूर्ण सरुक्षा निकायका प्रमुखहरुसँग छलफल गर्नु भएको थियो । शान्ति सुरक्षाको बारेमा कसैसँग सम्झौता नगर्न निर्देशन पनि दिनु भएको छ । समग्रमा सुरक्षा स्थिति राम्रो छ । हामीले राति ८ वजेपछि रक्सी पसलहरु बन्द गर्न निर्देशन दिएका छौ । अपराधिक पृष्ठभूमिका व्यक्तिहरुको निगरानी गरेका छौ । यी यावत कुराप्रति हामी सजग छौ । कसैको डर, त्रास र धम्कीमा नपर्नुस् हामी तपाईहरुको साथमा छौं भन्ने सन्देश पनि दिएका छौ ।
विजया दशमी पनि नजिकिदैछ, निर्वाचन पनि मुखैमा आइसक्यो, त्यहाँको जनतालाई के भन्न चाहनुहुन्छ ?
२० वर्षपछि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा तपाईहरु निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्नुहोस्, आफ्नो स्थानीय सरकार वनाउनुहोस्, योग्य प्रतिनिधि छान्नुहोस्, स्थानीय स्तरमा आफ्नो विकास र समृद्धि प्राप्त गर्न लाग्नुहोस्, त्यसैमा सवै जनताको हित हुन्छ । साथै भाइचाराको सम्वन्धलाई कायम राख्न विजय दशमीले प्रेरणा मिलोस् मेरो तर्फबाट यही शुभकामना ।