दक्षिण कोरियाको सिओलमा सम्पन्न ५१ औँ एशियन बडिबिल्डिङ प्रतियोगिता २०१७ मा ५५ केजी तौल समूहमा काश्य पदक विजेता कमल भण्डारीलाई बुल्समेन क्लबले आज यहाँ सम्मान गरेको छ ।
खेलका माध्यमबाट अन्तरराष्ट्रियस्तरमा पदक जितेर समग्र नेपालको खेल जगतलाई गुन लगाएको भन्दै रु ४० हजार नगदसहित उहाँलाई सम्मान गरिएको हो ।
क्लबका अध्यक्ष एवं जिल्ला खेलकुद विकास समितिका सदस्य नुना गुरुङले अन्तरराष्ट्रियस्तरको पदक जितेर भण्डारीले नेपालीको शिर उँचो बनाएको बताउँदै आसन्न विश्वकप स्तरीय प्रतियोगितामा उहाँ सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
बडिबिल्डिङ अत्यन्त खर्चिलो खेल भए पनि यसतर्फ राज्यको चासो नभएको बताउँदै उहाँले विश्वमा नेपालको पहिचान गराउन सक्ने भण्डारीजस्ता खेलाडीलाई राज्य एवं खेलप्रेमीबाट सहयोग आवश्यक रहेको बताउनुभयो ।
पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले आर्थिक अभावमा सम्भावना बोकेका खेलाडी ओझेलमा पर्न नहुने बताउँदै राज्यबाट प्रदान गरिने सेवा सुविधा खेलको प्रकृति एवं आवश्यकताका आधारमा हुनुपर्नेमा जोड दिनुभयो ।
सम्मानित खेलाडी भण्डारीले बडिबिल्डिङ खेलप्रति राज्यले चासो दिन नसकेको गुनासो गर्दै खेलाडीलाई प्रोत्साहित गर्ने किसिमको व्यवहार आवश्यक भएको बताउनुभयो ।
“नेपाली खेलाडी अवसर भएमा विश्वका जस्तोसुकै प्रतियोगितामा पनि देशको पहिचान राख्न सक्छन् तर त्यसका लागि राज्यको सहयोग अपरिहार्य छ तर त्यो अवस्था सिर्जना हुन नसक्नु हामी सबैका लागि दुःखद् कुरा हो ।” उहाँले भन्नुभयो । रासस