प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षका कारण बाढीपहिरो र डुबानबाट प्रभावित तराई–मधेशका नौ जिल्लाको आज अवलोकन गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले बाढी प्रभावित बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सुनसरी, मोरङ र झापाको अवलोकन गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
अवलोकनका क्रममा प्रधानमन्त्री देउवाले इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनामा पूर्वाञ्चल क्षेत्रका सबै सरकारी अधिकारीलाई कुनै कमीकमजोरी नआउने गरी राहत र उद्धारमा खटिन निर्देशन दिनुभएको थियो ।
“तपाईहरु अब बाढीपीडितलाई राहत कसरी दिने भन्नेमा केन्द्रित हुनुहोस्”– प्रधानमन्त्री देउवाले भन्नुभयो, “राहत वितरण र क्षतिपूर्तिमा कुनै कमजोरी भएको मैले सुन्न नपरोस् ।”
त्यसैगरी इटहरीको कृष्ण मन्दिरमा बाढीपीडितसँग साक्षात्कार गर्दै प्रधानमन्त्री देउवाले पीडितको उद्धार र राहत कार्य आफैँमा निकै गम्भीर भएको हुँदा छिट्टै राहत र क्षतिपूर्ति रकम उपलब्ध हुने विश्वास दिलाउनुभयो ।
“बाढीले तराईमा गरेको यो निकै ठूलो मानवीय र भौतिक क्षतिप्रति सरकार गम्भीर छ”– उहाँले भन्नुभयो, “तपाईहरुलाई राहत रकम छिट्टै हात हातमा सरकारले पु¥याउने छ ।”
प्रधानमन्त्री देउवाले राहत सामग्री सरकारले यातायातमा कठिनाइ भए स्थानीय बजारमा खरिद गरेर भएपनि वितरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुुभयो ।
“यातायात अवरोधले राहतको रकम ल्याउन कठिनाइ भए हामीले स्थानीय बजारमै किन्ने व्यवस्था पनि गरेका छौँ”– उहाँले भन्नुभयो, “सरकारले निर्णय गरेको दुई लाख क्षतिपूर्ति रकम केही दिनभित्रै तपाईहरुको हातमा आउनेछ ।”
पीडितको उद्धार र राहतमा सरकारले कुनै कसर बाँकी रहने नगरी काम गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।