प्रधानन्यायाधीश गोपाल पराजुलीले पेशालाई मर्यादित बनाउन सके कानूनी क्षेत्रको महत्व बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको छ ।
उच्च अदालत वार र जिल्ला बार एशोसिएशनद्वारा उहाँको सम्मानमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले बार र बेञ्चले एक अर्काको भूमिका बुझ्दै गएमा न्याय सम्पादनमा सहज वातावरण बन्ने बताउनुभयो ।
प्रधानन्यायाधीश पराजुलीले अब छिट्टै नै एक दर्जन कानून व्यवसायीलाई वरिष्ठ कानून व्यवसायी बनाउन लागिएको बताउँदै यो काम विधि र प्रक्रियाबाटै सम्पन्न हुने जानकारी दिनुभयो ।
आफू प्रधानन्यायाधीश भएपछि जारी गरेको ३९ बुँदे कार्यक्रमले न्याय क्षेत्रमा धेरै सुधार ल्याउने दाबीसमेत उहाँले गर्नुभयो ।
सर्वाेच्च अदालतका मुख्य रजिस्टार नहकुल सुवेदीले अदालतलाई प्रविधिमैत्री बनाउन लागेको उल्लेख गर्दै अबका दिनमा चिठी र निवेदनबाट मिसिल होइन, अनलाइनबाटै सवै काम हुन्छ भन्नुभयो ।
“अब अदालत मात्रै होइन, कानून व्यवसायी पनि प्रविधिमैत्री हुनुपर्दछ,” उहाँले भन्नुभयो ।
वरिष्ठ अधिवक्ता तिलकप्रसाद आचार्य, अधिवक्ता विष्णु कुशल भुजेल, विश्व घिमिरे, कृष्णप्रसाद तिमिल्सिना, सुरेन्द्र थापा मगर, कल्पना बराल र शिव वाग्लेलगायतले बार र बेञ्च एक अर्काका परिपूरक भएकाले दुबै क्षेत्रको विकासमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।