पूर्ण सरसफाई, सफा तथा स्वच्छ वातावरण बॉच्न पाउनु सबै नागरिकको संवैधानिक अधिकार हो । बढ्दो जनसंख्या, अव्यवस्थित बसाईसराई र तीब्र शहरीकरणका कारण फोहरमैलाको व्यवस्थापन सहरी क्षेत्रको प्रमुख वातावरणीय चुनौतीका रुपमा देखा परेको छ । यसै तथ्यलाई दृष्टिगत गरी फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले नगरलाई सफा र पूर्ण सरसफाई राख्न उत्प्ररित गर्ने उद्देश्यले हरेक वर्ष उत्कृष्ट सफा सहर घोषणा गर्दै आएको छ । विगत वर्षहरु झैं आर्थिक वर्ष २०७३÷०७४ मा पनि केन्द्रले फोहरमैला व्यवस्थापन, खानेपानी तथा ढल निकासको उचित प्रवन्ध, हरियाली प्रवर्धन, प्रदुषण नियन्त्रणलगायतका क्षेत्रमा नगरपालिकाहरुले गरेको कार्यको मूल्याङ्न गरी उत्कृष्ट सफा सहर घोषणा गरेको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सभाकक्षमा आयोजित कार्यक्रममा उप प्रधानमन्त्री एवम् संघीय मामिला तथाविकास मन्त्री विजयकुमार गच्छदारले उत्कृष्ट तीन नगरपालिकालाई पुरस्कृत गर्नु भएको छ । यसरी पुरस्कृत हुने नगरपालिकाहरुमा धनकुटा नगरपालिका प्रथम, इलाम नगरपालिका दोश्रो र हेटौडा उपमहानगरपालिका तृतिय भएका छन् । उनीहरुले क्रमश १० लाख, ६ लाख र ४ लाख नगद सहिद प्रमाण पत्र प्राप्त गरेका छन् । सो पुुुरस्कार ग्रहण गर्न तीनै वटा नगरपालिकाका प्रमुखहरु कार्यक्रममा उपस्थित भएका थिए ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सिंहदरवारको अधिकार स्थानीय तहमा पुगेको र सोही अनुसारले जनताका हितमा काम गर्न सम्पूर्ण जनप्रतिनिधिहरुलाई सुझाव दिनु भएको छ । साथै उहाँले स्थानीय तहलाई संचालन गर्न बनाईने ऐन अबको १५ दिन भित्रमा निर्माण भई कार्यन्वयनमा ल्याईने जानकारी गराउनु भयो ।