नेकपा (माओादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले मधेश केन्द्रित दलसँग गठबन्धन गरेर चुनाव लड्ने बताउनुभएको छ ।
आज जनकपुरमा आयोजित पार्टी कार्यकर्ताको आन्तरिक प्रशिक्षण कार्यक्रममा उहाँले दोस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा कांग्रेससँग गरेको गठबन्धन भने तेस्रो चरणमा कांग्रेससँग मात्रै सीमित नहुने स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले तेस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा राजपालाई समेत सहभागी गराउनुपर्नेमा जोड दिदैं “राजपालाई सहभागी गराएर चुनाव गराउन सके राम्रो हुन्छ, त्यसैले राजपासहितको चुनाव गराउनमा हाम्रो शक्ति केन्द्रित छ,” भन्नुभयो ।
“प्रदेश नं. २ मा अझै पनि स्थानीय तहको संख्या बढ्न सक्ने सम्भावना छ,”उहाँले भन्नुभयो “साउन १७ गते अदालतले सरकारको निर्णय कार्यान्वयन गर्न फुकुवा गरिदियो भने स्थानीय तहको संख्या प्रदेश नम्बर २ मा बढ्न सक्छ ।”
अध्यक्ष दाहालले संख्या बढ्यो भने राजपाको माग पनि सम्बोधन हुने धारणा व्यक्त गर्नुभयो ।
प्रदेश र केन्द्रको चुनाव एकै चरणमा गर्न राजनीतिक दलहरू सकारात्मक रहेको बताउँदै उहाँले “राजनितिक दल एकै चरणमा प्रदेश र केन्द्रको चुनाव गर्ने विषयमा तयार छन्,” भन्नुभयो ।
अध्यक्ष दाहालले निर्वाचन आयोगले एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गराउन प्राविधिक कठिनाई हुने देखाइरहेको बताउँदै एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गर्न अझै पनि हामी कसरत गरिरहेका छौं भन्नुभयो ।