संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवका आयोजनालाई प्रभावकारी रुपमा अघि बढाउने भएको छ ।
पर्यटनमन्त्री जितेन्द्रनारायण देवले आफ्नो मन्त्रालयको जिम्मेवारीभित्र पर्ने राष्ट्रिय गौरवका पाँच आयोजना तथा राष्ट्रिय महत्वको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई उच्च प्राथमिकता दिई कार्य गरिने बताउनुभयो ।
मन्त्रालयमा आज राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज)को बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री देवले राष्ट्रिय गौरवका आयोजना र क्यानको कामलाई गुणस्तरीय तथा परिणाममुखी बनाउन आवश्यक कदम चाल्ने पनि बताउनुभयो ।
मुलुकका २१ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये पर्यटन मन्त्रालयअन्तर्गत पाँचवटा आयोजना छन् । ती मध्ये तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल – क्रमशः निजगढ (बारा) को दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा संस्कृतिअन्तर्गत दुई राष्ट्रिय महत्वका पशुपति विकास कोष र लुम्बिनी विकास कोष छन् । ती पाँच आयोजना तथा राष्ट्रिय महत्वको क्यानलाई पनि विशेष प्राथमिकता दिएर काम अघि बढाउने मन्त्री देवको भनाइ छ ।
“यो मन्त्रालय आकारमा सानो देखिए तापनि राष्ट्रको ठूलो जिम्मेवारी बोकेको छ । संस्कृति, पर्यटन तथा नगरिक उड्डयन यी तीनवटा क्षेत्रले राष्ट्रिय महत्वका विषयलाई उजागर गर्छन् । राष्ट्रिय गौरवका आयोजनामध्ये पाँचवटा यसै मन्त्रालयका छन् त्यसैले यो निकै चुनौतीपूर्ण काम छ, यसलाई परिणाममुखी बनाउन उच्च प्राथमिकता दिएर आगामी कार्ययोजना बनाउँदैछु,” उहाँले भन्नुभयो ।
दुईमहिने कार्ययोजना आउँदै
पर्यटनमन्त्री देवले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको समग्र विकासका लागि दुई महिनासम्म गर्ने कामको कार्ययोजना एक÷दुई दिनभित्रै पत्रकारसम्मेलन गरेर सार्वजनिक गरिने पनि बताउनुभएको छ ।
जनताले थाहा पाउने र देशलाई फाइदा हुनेगरी मन्त्रालय मातहतका प्राथमिकताका आयोजनालाई प्रभावकारी बनाउन सरोकार भएका सबै निकायका प्रमुखलाई निर्देशन दिइसकेको र दुईमहिने कार्ययोजनाको परिणामअनुसार राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्ने स्पष्ट पार्नुभयो ।
मन्त्री देवले सबैभन्दा चुनौतीका रुपमा रहेको भूकम्पबाट क्षति भएका पुरातात्विक सम्पदाको पुनःनिर्माणमा मन्त्रालयले विशेष ध्यान केन्द्रित गर्ने बताउनुभयो ।
सो अवसरमा नाटोजका अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रका विद्यमान समस्या र समाधानका लागि गरिनुपर्ने कामबारे मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो ।